काठमाडौँ – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य सोमबार घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९१ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९० हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस गिरावटसँगै सुन आठ महिना भन्दा बढी समयकै सस्तो भएको छ। आज कायम भएको सुनको मूल्य २०७९ सालकै सस्तो रहेको छ। सुन पुष २६ गते यताकै सस्तो भएको महासंघले जनाएको छ। महासंघका अनुसार आज कायम भएको सुनको मूल्य ८ महिना भन्दा बढी समय अर्थात् २ सय ५२ दिनकै सस्तो हो।
चाँदीको मूल्य
नेपाली बजारमा सुन सँग-सँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। महासंघका अनुसार आज नेपाली बजारमा चाँदी १ हजार १ सय ७५ रुपैंयाँमा कारोबार भइरहेको छ।