बार्सिलोनाबाट च्याम्पियन्स लिग डेब्यूमै लेवान्डोस्कीको ह्याट्रिक, बार्सिलोनाको सानदार जित !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा सानदार सुरुवात गरेको छ ।

बार्सिलोनाले समूह चरणको पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो । घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केसी र फेरान टोरेसले १-१ गोल गरे । प्लेजनका जान सिकोराले एक गोल फर्काए । बार्सिलोनाका लागि ओस्मान डेम्बेलेले सानदार प्रदर्शन गरे ।

खेलको १३ औं मिनेटमा बार्सिलोनाले केसीको गोलमा अग्रता लिएको थियो । ओस्मान डेम्बेलेको कर्नरमा जुल्स कुन्डेले गरेको हेडरलाई केसीले हेडरमार्फत नै गोल गरेका थिए । ३४ औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर पार्यो । सर्जी रोबर्टोको पासमा लेवान्डोस्कीले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर फिनिस गरे ।

४४ औं मिनेटमा पाहुना टोलीले गोल फर्काउँदै बार्सिलोनाको अग्रता कम गर्यो । बाक्लाभ जेमेल्काको क्रसमा सिकोराको हेडर गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउन सकेनन् । तर इन्ज्युरी समयको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै २ गोलको अग्रता कायम गरे । डेम्बेलेले दायाँ विंगमा आफैं खुस्काएको बल ट्याकल गरेर जित्दै त्यसपछि दिएको क्रसलाई लेवान्डोस्कीले डाइभिङ हेडरमार्फत गोल गरे ।

दोस्रो हाफको ६७ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । उनले यसपटक पेनाल्टी क्षेत्र बाहिरबाट फेरान टोरेसको पासलाई सुन्दर फिनिस गर्दै ४-१ ले अघि बढाए । ७१ औं मिनेटमा डेम्बेलेको चलाखीपूर्ण फ्लिक पासलाई टोरेसले भलीमा गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । समूहको अर्को खेलमा बायर्नले इन्टरको मैदानमा २-० को जित दर्ता गर्यो ।

प्रकाशित : बिहिबार, भदौ २३, २०७९०६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन्दीपलाई चाहियो प्रतिष्ठित वकिल, आइसिसीको गम्भिर चासो !