काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न सिकाउँदा ठमेलस्थित छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेका छन् । घटना, गत शुक्रबारको हो । मन्त्री श्रेष्ठ ठमेलस्थित छाया सेन्टरमा भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ ।
त्यहाँ अन्य सेवाग्राही लाइनमा बसेका थिए । व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) सहित पुगेका मन्त्री श्रेष्ठलाई सेन्टरका गार्ड गुरुङले लाइनमा आउन भनेका थिए । जवाफमा मन्त्रीका पिएसओले ‘मन्त्रीज्यू हो, मन्त्रालयमा मिटिङ छ’ भनेका थिए ।
तर, गुरुङ ‘मन्त्रीसन्त्री चिन्दिनँ, जो भए पनि लाइनमा आउनुस्’ भनेर झर्किएपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएका गुरुङविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ ।
मन्त्रीले यस विषयमा गृह मन्त्रालयमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय हुँदै दरबारमार्ग वृत्तमा गुरुङलाई पक्राउ गरी कारबाही गर्न पत्र पुगेको थियो । ‘मन्त्री श्रेष्ठ छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि पुगेका थिए । तर, मन्त्रीलाई पनि सुरक्षा गार्डले लाइनमा बस्न भनेका थिए । मन्त्रीका पिएसओले उनी मन्त्री भएको बुझाउन प्रयास गर्दा पनि गार्डले नमानेपछि यस्तो अवस्था सिर्जना भएको हो’, स्रोतले भन्यो ।
गार्डले जो मानिस भए पनि लाइनमा बस्नुपर्ने बताएपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ । त्यसपछि पिएसओमार्फत जाहेरी दिएर प्रहरीले गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी परिसर टेकुका प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार गुरुङले मन्त्री श्रेष्ठमाथि दुव्र्यवहार गरेकाले कारबाहीको दायरामा ल्याइएको बताए ।