दसैंको मुखमा चीनले दियो धोका, पाँच सय कन्टेनर चीनमै अड्किए !

काठमाडौँ – चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन्। चिनियाँ पक्षले पूर्वजानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालबाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन्। ‘चीनले पूर्वसूचना नदिई एक्कासि नाका बन्द गरेपछि करिब चार सय ८० मालवाहक ट्रक रोकिएका छन्,’ कार्कीले भने, ‘ट्रकमा दसैंलक्षित सामान छन्।’ सिगात्सेमा कोरोना संक्रमण देखिएपछि चीनले साउन २५ गतेदेख दुवै नाका पूर्ण रूपमा बन्द गरेको छ।

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतमा कोभिडको प्रकोप बढेको भन्दै नेपालसँगका दुई नाका बन्द गरेको हो। दसैंका लागि करोडौं रुपैयाँका सामान बोेकेर नेपालतर्फ हिँडेका ट्रक, कन्टेनर चिनियाँ भूमिमै रोकिएपछि व्यवसायी मर्कामा परेका छन्। चीनले विगतमा पनि यसरी नै पटकपटक नाका बन्द गर्दै आएको छ। नाका खुल्ने निश्चित नहुँदा व्यापारी अन्योलमा छन्। ट्रक, कन्टेनर ल्हासा र नेपाल–चीन नाकाको बीचमा अलपत्र परेका हुन्।

कोभिडसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर नाका नियमित गर्नुपर्ने भए पनि चीनले आफूखुसी नाका बन्द गरेको व्यवसायीको गुनासो छ। चीनले नाका बन्द गरेको यो पहिलो पटक भने होइन। ‘यसअघि पनि पटकपटक नाका बन्द भएको छ,’ कार्कीले भने, ‘जसकारण व्यवसायीले दुःख पाएका छन्।’

पूर्वजानकारी दिएर बन्द गरेको भए सामान अलपत्र नपर्ने व्यापारी बताउँछन्। नाका नियमित गर्ने विषयमा सरकारका तर्फबाट कूटनीतिक पहल नपुगेको व्यवसायीको गुनासो छ। व्यवसायीले कोभिड देखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर नाका नियमित गर्न कूटनीतिक पहल थाल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लिखित अनुरोध पनि गरेका छन्। परराष्ट्र मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतसँग कुराकानी गरी नाका खोल्न पहल गर्नुपर्ने व्यापारीको माग छ। ‘उच्च तहको कूटनीतिक पहल हुन सकेको छैन,’ कार्कीले भने।

बन्द सीमानाका चीनले कहिले खुल्छन् भन्ने निश्चित छैन। ल्हासामा रहेका चीनका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालमार्फत सीमानाका खुलाउन पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

दसैंका सामान रोकिँदा व्यवसायी मर्कामा परेको रसुवागढी भन्सारप्रमुख रामप्रसाद मैनालीले बताए। ‘नाका कहिले खोल्ने विषयमा केही जानकारी छैन,’ उनले भने, ‘तत्काल खोल्ने सम्भावना देखिँदैन।’ नाका बन्द भएपछि व्यापारीले पछिल्लो पटक अर्डर गरेका सामान भने रिरुट गरेर भारत हुँदै ल्याउन थालेका छन्। ल्हासाबाट यता आएका सामानका कन्टेनर रिरुट गर्ने सम्भावना नभए पनि डाइभर्ट गरेर ल्याउन थालिएको छ। नाका खोल्ने निश्चित नभएपछि व्यापारीले केही ट्रक डाइभर्ट गरेको तातोपानी नाकाका प्रमुख नारद गौतमले बताए। ‘नाका खुल्ने निश्चित नभएपछि व्यापारीले नयाँ अर्डर डाइभर्ट गरेका हुन्,’ उनले भने।

प्रकाशित : सोमबार, भदौ २०, २०७९०९:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भिजिट भिसामा मानव तस्करी, अब विदेश घुम्न जाने माथि कडाई !