काठमाडौँ – उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए। उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुईपांग्रेकै दुर्घटनाबाट भएका थिए। यी १ सय १७ मध्ये ५८ जना दुईपांग्रेको ठक्करबाट मृत्यु भएका पैदलयात्रु हुन्।
यसरी दुर्घटनामा पर्नेहरूमा ज्यादातर १७ देखि ३५ वर्ष उमेर समूहका रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। त्यसमा पनि बढीजसो विद्यार्थी नै रहेको कार्यालयको अनुभव छ। यही अनुभवका आधारमा ट्राफिक कार्यालयले विद्यार्थी लक्षित सडक सुरक्षा योजना सुरु गरेको हो। झन्डै एक सातादेखि विद्यालय, कलेज र विभिन्न शैक्षिक प्रतिष्ठानको समयलाई ध्यानमा राखेर ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’लाई बढावा दिइएको छ।
हालसम्ममा झन्डै ३ सय विद्यार्थीलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्ट बताउँछन्। उनका अनुसार बिहीबार मात्रै १ सय १४ जना चालक कारबाहीमा परेका छन्।
‘विशेषगरी बिहानको ५ बजेदेखि ७ बजेको समयलाई फोकस गरेर हामीले यो अभियान चलाइरहेका छौं,’ उनले भने, ‘सुरुवातदेखि नै ठुलै मात्रामा विद्यार्थीहरूबाट ट्राफिक नियम उल्लंघनका घटना देखिएका छन्।’
यस्तोमा सवारी चालक अनुमतिपत्र प्राप्त नै नगरी साधन चलाउने, आवश्यक कागजपत्र साथमा नराख्ने, सवारी चलाउँदा लापरबाही गर्ने, क्षमताभन्दा बढी यात्रु चढेर हिँड्ने, तीव्र गतिमा हाँक्ने, हेल्मेट लगायत सुरक्षा सामग्री नलाउने, मदिरा र लागुऔषधजन्य पदार्थ सेवन गरेर सवारी चलाउनेलगायत प्रवृत्ति पाइएको एसएसपी भट्ट बताउँछन्।
‘बिल्कुलै रफ स्वरूप भेटियो। एक त किशोर उमेर छ, त्यसैमा पनि ट्राफिक नियमहरूप्रति पुरै लापरबाह रूप देखिएको छ। यसमा यो अभियान अत्यावश्यक देखिएको छ,’ उनी भन्छन्।
