काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। असार २९ गतेदेखि श्रावण १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड सोमबार सम्पन्न भएको हो। निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच आईपीओ बाँडफाँड गरियो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
सोमबार बाँडफाँड भएपछि २ लाख १७ हजार ६ सय ९४ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६ सय ८८ जना लगानीकर्ताहरूले १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रूपैयाँ बराबरको १ करोड ७२ लाख ६५ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका थिए। यस हिसाबले १३ लाख २० हजार भन्दा बढीको हात रित्तो भएको छ।
कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।