काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीको आईपीओ आजबाट निष्कासन तथा बिक्रीका लागि खुला हुने भएको हो।
यस अगाडी आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन गरिसकेको राप्ती हाइड्रोले २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गर्न लागेको हो।
त्यसमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ। बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन आज देखि साउन १ गतेसम्म दिन सकिनेछ। साउन १ गतेसम्म माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप गर्ने कम्पनीको तयारी छ।
कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह–निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।