माओवादीलाई अमेरिकाको जवाफ चाहियो !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुनमा संसद्बाट एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएपछि अमेरिकाको धारणा माग्दै सरकारले पत्र लेख्नुपर्ने माग गरेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले आफ्नो धारणा व्यक्त गर्नुपर्ने विषयमा सरकारले अविलम्ब पत्र लेख्नुपर्ने माग गरेका हुन् ।

१९ देखि २३ सम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले सरकारले पत्र लेख्नुपर्ने मागसहितको निर्णय गरेको श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

‘नेपालको संघीय संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणासहित गरिएको थियो र सो घोषणा अमेरिकाले स्वीकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वतहः खारेज हुने व्याख्या संसद्मा नै गरिएको थियो । तर, एमसीसी अमेरिकाले अहिलेसम्म १२ बुँदे घोषणाबारे कुनै प्रतिक्रिया दिएको देखिएको छैन । तसर्थ नेपाल सरकारले यथाशीघ्र एमसीसी अमेरिकासँग १२ बुँदे घोषणाको सम्बन्धमा उसको धारणा स्पष्ट गर्न माग गर्दै पत्र लेख्नुपर्छ,’ श्रेष्ठले बैठकको निर्णय सार्वजनिक गर्दै लेखेका छन् ।

त्यस्तै, एसपीपीलाई सरकारले अघि नबढाउने निर्णय गरेको भन्दै राष्ट्रिय सार्वभमिकता एवं हितका सम्बन्धमा सही निर्णय गरेको माओवादी केन्द्रको ठहर छ । ‘यस सम्बन्धमा सरकारले तत्काल अमेरिकी सरकारलाई पत्र लेखी औपचारिक जानकारी गराइहाल्नुपर्छ,’ माओवादी केन्द्रको निर्णयमा उल्लेख गरिएको छ ।

यसका साथै भूराजनीतिक एवं सामरिक गठबन्धनमा नेपाललाई सामेल गराउने उद्देश्यका साथ यस प्रकारका राष्ट्रिय सार्वभौमिकता र हित विपरीतका सम्झौताको प्रयत्न भविष्यमा पनि हुन सक्ने खतराप्रति सचेत हुँदै माओवादी केन्द्र यसप्रति निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । सरकार, सम्पूर्ण देशभक्त शक्ति र आमजनसमुदायमा समेत यसका लागि माओवादीले अपिल गरेको छ ।

प्रकाशित : सोमबार, असार २७, २०७९०८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अन्ततः फुट्यो जसपा, बाबुराम मिले महन्थसँग !