प्रत्येक महिनाको कृष्ण पक्ष र शुक्ल पक्षको त्रयोदशी तिथीमा भगवान शिवलाई समर्पित प्रदोष व्रत मनाइन्छ। भगवान शिवलाई प्रसन्न पार्न यस दिन व्रत बस्नु लाभदायक मानिन्छ । यो तिथि भगवान शिवलाई अति प्रिय छ। यस व्रतमा भगवान शिवको आराधना गर्नाले सुखी जीवन र आफूले चाहेको मनोकामना पूरा हुने विश्वास गरिन्छ । त्रयोदशी तिथि शुक्रबार पर्दा त्यसलाई शुक्र प्रदोष व्रत भनिन्छ ।
प्रदोष व्रतमा ‘ॐ नमः शिवाय’ मन्त्रको जप गर्नुहोस् । प्रदोष व्रत विशेष गरी ऋणमा परेका वा घर-जग्गा किन्न चाहनेहरूले गर्नुपर्छ। प्रदोष व्रतमा शिव स्तोत्रको पाठ गर्नु शुभ मानिन्छ । यस दिन केसरको तिलक निधार, गर्नुको साथै घाँटी र नाभिमा लगाउनुहोस्। प्रदोष व्रतको दिन पिपलको रुखको १०८ परिक्रमा गरी जल चढाउनुपर्छ ।
प्रदोष तिथी भगवान शिव र माता पार्वतीको पूजा गर्नका लागि अत्यन्त फलदायी मानिन्छ। प्रदोष व्रतको पूजा सूर्यास्त हुनुभन्दा करिब ४५ मिनेट अगाडि प्रदोष काल सन्ध्याको समयमा सुरु हुन्छ । यो व्रत गर्नाले दीर्घायुको वरदान प्राप्त हुन्छ । मानसिक रोगी वा स्वास्थ्य कमजोर भएकाहरूका लागि आजको दिन भगवान शिवको पूजा गर्नु शुभ मानिन्छ ।
यस दिन बिहान सबेरै उठेर स्नान गरी भक्तिपूर्वक भगवान शिवको पूजा–आराधना गर्नुहोस् । यो व्रत गर्नाले कुनै प्रकारको भय हुँदैन । परिवारमा सुख-समृद्धिको लागि प्रदोषको दिन शिव परिवारको तस्बिर घरमा लगाउनुहोस्। यस दिन भगवान शिवको आराधना गर्नाले घरको वास्तु दोष हट्छ। यस व्रतमा शिव चालिसाको पाठ निकै शुभ मानिन्छ ।