अहिले भारतीय फिल्म ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ पछि, शाहिद कपूर र मृणाल ठाकुरको बहुप्रतिक्षित फिल्म ‘जर्सी’ शुक्रबार भारतका हलमा रिलिज भएको छ । अहिले यस चलचित्रलाई भने नेपालमा ल्याइएको छैन । बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ २’ को सुनामी आएको बेला यो फिल्म रिलिज भएको हो । फिल्मले बक्स अफिसमा खासै कमाई गरेको देखिँदैन ।
लामो समयको प्रतिक्षापछि चलचित्र दर्शकमाझ आएको छ । चलचित्रलाई सेलिब्रेटी र फ्यानबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । योसँगै फिल्मले बक्स अफिसमा निकै सुस्त सुरुवात गरेको थियो । अब शाहिद कपूरको फिल्म जर्सीको तेस्रो दिनको रिपोर्ट सार्वजनिक भएको छ ।
रिलिज भएको तीन दिनमै कन्नड फिल्म ‘केजीएफ २’ को हिन्दी डब गरिएको संस्करणमा यो फिल्म फसेको छ। व्यापार विश्लेषक तरण आदर्शले यो फिल्मलाई साढे दुई स्टार रेटिङ दिएर निकै ढिलो र खिचिएको फिल्म भनेका छन् ।
शनिबार फिल्मको कमाईमा राम्रो उछाल आएको र आइतबार पनि फिल्मले राम्रो कमाइ गर्ने निर्माण पक्षको अपेक्षा थियो तर आइतबार भने फिल्म यथावत् नै रह्यो । प्रारम्भिक तथ्यांक अनुसार फिल्म ‘जर्सी’ले रिलिजको पहिलो तीन दिनमा करिब ९ करोड ५० लाखको व्यापार गरेको छ । जर्सीले आइतबार कुल ५.७५ करोडको व्यापार गरेको छ ।
फिल्ममा मृणाल ठाकुर र पंकज कपूर पनि मुख्य भूमिकामा छन् । यो स्पोर्ट्स भारतीय ड्रामा फिल्म हो । यसमा शाहिद अर्जुन तलवार नामका क्रिकेटरको भूमिकामा देखिएका छन् ।