आयु र आरोग्यतामा वृद्धिका लागि बैशाखमा सुरु गर्नुहोस् सूर्य व्रत

काठमाडौँ : भगवान सूर्यले ब्रह्माण्डलाई उज्यालो मात्र पार्दैन्, यसलाई जीवन दिने देवता पनि मानिन्छ। ज्योतिष शास्त्रमा सूर्यलाई ग्रहहरुका राजा भनिन्छ। सूर्यको उच्च अवस्थामा जातकले मान-सम्मान, पद-प्रतिष्ठा, सुख, आरोग्यता र दीर्घायु प्राप्त गर्दछन्। तर यदि जन्मकुण्डलीमा सूर्य खराब दशामा छ या पापयुक्त अवस्थामा बसेको छ भने जातकलाई विपरीत प्रभाव पर्छ। यस्तो अवस्थामा सूर्य व्रत बस्ने विधान छ।

सूर्य व्रत बैशाख महिनाको कुनै पनि आइतबारदेखि प्रारम्भ गर्न सकिन्छ। सूर्य व्रत एक वर्ष या ३० आइतबारको लागि राखिन्छ। यदि तपाईले एक वर्षको लागि सङ्कल्प गर्नुभएको छ भने यो वर्षको बैशाख देखि अर्को वर्षको बैशाखसम्म व्रत बस्नुपर्छ। अन्यथा लगातार ३० आइतबारसम्म पनि व्रत बस्न सक्नुहुन्छ। व्रतको दिन रातो रङ्गको वस्त्र धारण गरी पूजा स्थानमा शुद्ध स्वच्छ भई रातो राडीमाथि बस्नुहोस्। गहुँको थुप्रोमा रातो कपडा बिछ्याएर अगाडि सूर्यको चित्रको सूर्य यन्त्र स्थापना गर्नुहोस्।

रक्तचन्दन र रातो फूलले सूर्यदेवको पूजा गर्नुहोस्। नैवेद्यमा सख्खर, हलुवा चढाउनुहोस्। त्यहीँ बसी ऊं ह्रां ह्रीं ह्रौं स: सूर्याय नम: मन्त्र १२ अथवा पाँच माला जप गर्नुहोस्। जप गरेपछि शुद्ध जल, रक्तचन्दन, अक्षता, रातो फूल र दुबोले सूर्यलाई अ‌र्घ्य दिनुहोस्। भोजनमा गहुँको रोटी, च्याख्ला, दूध, दही, घ्यु र चिनी खानुहोस्। सूर्य व्रतमा नुन खानुहुँदैन्। प्रत्येक आइतबार यसरी नै पूजा गर्नुहोस्।

तपाईको सङ्कल्प अनुसार सूर्य व्रत पूरा भएपछि विधिपूर्वक समाप्त गरिन्छ। कुनै योग्य विद्वान ब्राह्मण बोलाएर विधिपूर्वक व्रत समाप्त गर्नुहोस्। व्रत समाप्तिमा १२ ब्राह्मणलाई भोजन गराई दान-दक्षिणा दिनुहोस्।

व्रतको फल : – 

सूर्य व्रतको प्रभावले सूर्यको प्रसन्नता प्राप्त हुन्छ। सूर्यको पीडा समाप्त हुन्छ।
आयुमा वृद्धि हुन्छ र स्वस्थ शरीर प्राप्त हुन्छ।
अत्यधिक बिरामी भईरहने व्यक्तिका लागि तिनका परिवारका सदस्यले पनि व्रत राख्न सक्छन्।
त्वचा, नेत्र र मस्तिष्कसम्बन्धी रोग लागेका व्यक्तिले यो व्रत राख्नुपर्छ।
जन्मकुण्डलीमा सूर्यले अशुभ प्रभाव पारिरहेको छ भने सूर्य व्रत राख्नुपर्छ।
मान-सम्मानमा कमी, जागिरमा उन्नतिको लागि यो व्रत अवश्यै राख्नुहोस्।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह पहिले जान्नुहोस् चाणक्य यी ५ कुरा, यस्ता मानिससँग भुलेर पनि नगर्नुहोस् विवाह !