विशेष हुनेछ यो वर्षको होलि, बन्दैछन् अत्यन्तै शुभ संयोग

काठमाडौँ : रङ्गहरुको पर्वको रुपमा परिचित होली देशभर हर्षाेल्लासका साथ मनाइन्छ। पहाडी जिल्लामा फागुपूर्णिमाका दिन होली खेलेर होलीका दहन गरी पर्व सम्पन्न गर्छन् भने तराईका जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् बेलुकीको समयमा होलीका दहन गरी अर्को बिहान होली पर्व मनाउने गरिन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‌भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

यो वर्ष चैत्र ३ गते होलीका दहन हुनेछ र चैत्र ४ गते तराईमा होली पर्व मनाइन्छ। यद्यपि पहाडी एवं हिमाली भेगमा भने चैत्र ३ गते नै होलि मनाइन्छ। यसअघि फागुन २६ गतेदेखि चैत्र ३ गतेसम्म होलाष्टक रहनेछ। यी ८ दिनको होलाष्‍टकको समयावधिमा माङ्गलिक काम गर्न निषेध गरिएको छ।

फाल्गुन शुक्ल पक्षको अष्टमीदेखि होलिका दहनसम्मको समयलाई शास्त्रमा होलाष्टक भनिएको छ। होलाष्टक शब्द दुई शब्दको संयोजनबाट बनेको छ। होलि र आठ अर्थात् ८ दिनको पर्व। यो अवधि यस वर्ष फागुन २६ गतेदेखि चैत्र ३ गतेसम्म छ। यस होलाष्टकमा गृहप्रवेश, मुण्डन संस्कार, विवाह सम्बन्धी कुराकानी, मगनी-विवाह, कुनै नयाँ कामको सुरुवात, जग राख्ने, नयाँ सवारी साधन किन्ने, गरगहना खरिद गर्ने, नयाँ व्यवसाय आरम्भ गर्ने लगायतका शुभ माङ्गलिक कार्य गर्न हुँदैन्। यो समयावधिमा यस्तो काम गरे अशुभ फल मिल्छ।

यस वर्ष होलिमा वृद्धि योग, अमृत सिद्धि योग र सर्वार्थ सिद्धि योगसँगै ध्रुव योग बन्दैछ। वृद्धि योगमा गरिएका कामहरुबाट लाभ प्राप्त हुने मान्यता छ। त्यस्तै सर्वार्थ सिद्धि योगमा गरिएका कार्यहरुबाट पुण्य प्राप्त हुन्छ। ध्रुव योगले चन्द्रमा र सबै राशिहरुमा शुभ प्रभाव पार्छ। यसका साथै यस वर्ष होलिमा बुध-गुरुको संयोगका कारण आदित्य योग पनि बन्दैछ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस वर्षको होलीमा बन्दै ५ शुभ संयोग, हुनेछ अनेक लाभ !