काठमाडौँ : अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र ‘नाइँ नभन्नू ल २’ बाट अभिनय करिअर सुरु गरिन्। उनले अभिनय गरेका केही चलचित्रबाहेक अधिकांश चलचित्र असफल छन्। चलचित्र असफल भए पनि उनको करियर असफल चाहिँ छैन।
किनकि उनले निरन्तर काम पाइरहेकी छन्। कलेजमा पढिरहँदा वर्षाले बैङ्क मेनेजर बन्ने योजना बनाएकी थिइन्। थिएटरमा गएर चलचित्र हेर्दा चाहिँ उनमा अभिनेत्री बन्ने रहर जाग्थ्यो। उनलाई निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाइँ नभन्नू ल २’ को अफर गर्नुअघि उनले केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन्।
त्यसकारणले पनि उनलाई चलचित्रमा काम गर्न त्यति असजिलो भएन। वर्षाको अनुभवमा उनले हस्ताक्षर गरेका अधिकांश प्रोजेक्टमा काम गर्दा सुरुमा जति उत्साह बढेपनि काम गर्दै जाँदा आफ्ना चलचित्रले दर्शकको मन जित्न सक्दैनन् भन्ने अनुभव हुने गरेको खुलासा गरेकी छन्।