काठमाडौं । नेपाली गीतसङ्गीत क्षेत्रकी लोकप्रिय गायिका हुन् अञ्जु पन्त। शब्दलाई गहिरो अनुभूतिसहित पस्किनु उनको गायनकौशल हो। उनले हालसम्म थुप्रै नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन्। अहिलेसम्मको गायनयात्रामा उनले लगभग ६ हजार गीत गाइसकेकी छिन्।
सुमधुर स्वरकी धनी उनी बेला-बेलामा सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन्। हालै उनले ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ को नयाँ भर्सनमा ओरिजिनल गायक/गायिकाको नामसमेत उल्लेख नगरेको भन्दै दुःख व्यक्त गरेकी थिईन्।
मनोज शिवाकोटीसँगको पहिलो विवाहबाट उनको एक छोरी परितोषिका पन्त छिन्। शिवाकोटीसँग सम्बन्ध-विच्छेदपछि उनले थिर कोइरालासँग दोस्रो विवाह गरेकी छिन्।
अञ्जुकी एक्ली छोरी परितोषिका पन्त अहिले जवान भईसकिन्। उनको शारीरिक बनावट ठ्याक्कै आमा अञ्जुसँग मिल्छ। अञ्जु आफ्नी छोरीलाई अभिनेत्री बनाउन चाहन्छिन्।
अञ्जुकी छोरी परितोषिकाले आमाकै एक गीतको भिडियोमा मोडलिङ गरेकी छन्। परितोषिकाले सुरेश वाग्लेको शब्द र आमा अञ्जु पन्तको गायन रहेको गीत ‘धेरै माया नदेउ मलाई’ बाट अभिनय यात्रा सुरु गरेकी हुन्। निकेश खड्काको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा परितोषिकाले कुन्सन बम्जनसँग जोडी बाँधेकी छिन्। भिडियोमा उनको अभिनयले वाहवाही पाएको छ। पहिलो म्युजिक भिडियोमै उत्कृष्ट अभिनय गरी उनले दर्शकको मन जितेकी छिन्। उनको लोभलाग्दो सुन्दरताले पनि सबैको ध्यान खिचेको छ।