काठमाडौँ : पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्लपक्षको पूर्णिमाको दिन विधिपूर्वक समापन गरिन्छ । यो वर्ष माघ शुक्लपक्षको पूर्णिमा फाल्गुन ४ गते अर्थात् १६ फेब्रुअरीमा परेको छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले यस दिन व्रत समापन गर्छन्। त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि यहीँ दिनदेखि अन्त्य गरिँदैछ ।
विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिन्छन्। चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनःमिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए । उपत्यकाको पूर्वीभेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि यहीँ दिनबाट अश्वमेध यज्ञ गरी समापन गरिन्छ।
माघ शुक्ल पूर्णिमामा बनिरहेको छ संयोग
शास्त्रहरूमा माघ शुक्लपक्षको पूर्णिमाको विशेष महत्व उल्लेख गरिएको छ। यो वर्ष माघ पूर्णिमा फाल्गुन ४ गते(१६ फेब्रुअरी) बुधवारको दिन परेको छ। यस दिन पवित्र नदीमा स्नान गरी दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यसका साथै यस दिन व्रत, जप, हवन र पूजा गर्नाले विशेष लाभ मिल्छ। पञ्चाङ्ग अनुसार माघ पूर्णिमामा विशेष संयोग बनेको छ। खासमा यस दिन अश्लेषा नक्षत्र र कर्कटको युति हुँदैछ। यसकारण माघ पूर्णिमाको दिन के-के गर्नुहुँदैन् त ? हेर्नुस्।
• धर्म शास्त्र अनुसार माघ पूर्णिमाको दिन अबेरसम्म सुत्नु हुँदैन। किनकी त्यसो गर्दा जीवनमा दुर्भाग्य आउँछ। • यस दिन घर-आँगन फोहोर राख्नुहुँदैन्। फोहोर राखे घरमा नकारात्मक उर्जाले बास गर्न थाल्छ। साथै धनधान्यकी देवी लक्ष्मीको पनि आगमन हुँदैन । • माघ पूर्णिमाको दिन कालो वस्त्र लगाउनु वर्जित मानिन्छ। यस दिन घरमा कुनै खाले कलह नगर्नुहोला। • माघ पूर्णिमाको दिन भूलवश पनि कसैको आलोचना गर्नुहुँदैन्। र साथै कसैलाई पनि अपशब्द नबोल्नुहोला। तथापि यसो गरिएमा माता लक्ष्मी सदाको लागि टाढा हुने मान्यता छ।