हप्ताको हरेक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ। जसरी सोमबार भगवान शिवसँग सम्बन्धित छ। त्यस्तै बिहीबार बृहस्पति देव र भगवान विष्णुसँग सम्बन्धित छ । विधिपूर्वक भगवान विष्णुको पूजा–आराधना गरी बिहीबार व्रत राख्नाले सबै कष्ट हट्ने मान्यता रहेको छ । यदि तपाइँ पनि पहिलो पटक बिहीबार व्रत सुरु गर्न वा राख्न चाहनुहुन्छ भने जान्नुहोस् यससँग सम्बन्धित केही महत्त्वपूर्ण नियमहरू।
बिहीबारको व्रत राख्नलाई पौष महिनाको बिहीबार व्रत प्रारम्भ गर्नु शुभ मानिन्छ । यो महिनाको कुनै बिहीबार पुष्य नक्षत्रको संयोग भएमा अझ राम्रो हुन्छ । साथै कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो बिहीबारदेखि व्रत बस्नु शुभ मानिन्छ । शास्त्र अनुसार यो व्रत लगातार १६ वटा बिहीबारसम्म राख्नु शुभ मानिन्छ ।
बिहिबारको व्रत बस्दा भगवान विष्णुको पूजा गरेपछि केराको सेवन गर्नु अशुभ मानिन्छ । केराको रुखमा भगवान विष्णुको वास हुने भएकोले बिहीबार केराको रुखमा जल चढाउनु शुभ मानिन्छ ।
बिहीबारको व्रत बस्दा भगवान विष्णुलाई सखर, पहेँलो कपडा, चनाको दाल र केरा चढाएर त्यसलाई गरिबलाई बाँड्नु शुभ मानिन्छ । यसो गर्नाले भगवान विष्णुको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।
बिहीबारको व्रत बस्नेले यस दिन कपाल र नङ काट्नु हुँदैन । बिहीबार यसो गर्नाले कुण्डलीमा बृहस्पति ग्रह कमजोर हुन्छन् । जसका कारण आर्थिक समस्या झेल्नु पर्ने हुन्छ । धार्मिक ग्रन्थ अनुसार यस दिन महिलाले आफ्नो कपाल र कपडा पनि धुनु शुभ मानिन्छ ।