साउथ फिल्मकी सुन्दरी नायिका नयनताराले नोभेम्बर १८ मा आफ्नो जन्मदिन मनाएकी छिन् । सन १९८४ मा भारतको बैंगलोरुमा जन्मिएकी नयनतारा आफ्नो व्यावसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा आउने गरेकी छिन् ।
नयनतारालाई कहिल्यै अभिनेत्री बन्ने सोचमा थिइनन् । उनी चार्टर्ड एकाउन्टेन्ट बन्न चाहन्थिन् । नयनतारा मार्थोमा कलेजबाट अंग्रेजी साहित्य पढेपछि उनी पार्ट-टाइम मोडलिङ पनि गर्थिन् । उनले मलयालम फिल्म ‘मनास्सी-नाकरे’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।
नयनताराले अहिलेसम्म विवाह गरेकी छैनन् । उनी आफ्नो लभ लाइफका कारण बारम्बार चर्चामा रहने गर्छिन् । उनको नाम निर्देशक तथा अभिनेता सिलम्बरासन राजेन्द्रसँग जोडिएको थियो । तर सन २००६ मा नयनताराले नै ब्रेक-अप भएको पुष्टि गरिन् । त्यसपछि नयनताराको नाम चर्चित डान्स मास्टर प्रभुदेवासँग जोडियो ।
त्यस समयमा नयनतारा प्रभुदेवाको प्रेम यसरी परेकी थिइन् कि उनले प्रभुदेवासँग विवाह गर्नको लागी आफ्नो धर्म परिवर्तन गरेर हिन्दु बनेकी थिइन्। अभिनेत्रीले प्रभुदेवाको नामको ट्याटु पनि खोपेकी थिइन् । नयनताराका कारण प्रभुदेवाको विवाहित जीवन सङ्कटमा परेको थियो । मुद्दा अदालतसम्म पुगेको थियो ।
नयनताराले शाहरुखको फिल्म ‘चेन्नई एक्सप्रेस’मा पनि आइटम गीत गर्न अस्वीकार गरिन् । भनिन्छ, शाहरुखसँग काम गर्न अस्वीकार गर्ने नयनतारा सायद पहिलो अभिनेत्री हुन् । रिपोर्टका अनुसार नयनताराले शाहरुख वा रोहित शेट्टीको कारणले नभई प्रभुदेवाको कारणले फिल्म छोडेकी थिइन् ।