नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको टार्गेट

काठमाण्डाै — अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ।

पार्मस्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो।

नेपालका तर्फबाट कुशल मल्लले सर्वाधिक २९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ र लोकेश बमले २४ रनको योगदान दिए।

बलिङतर्फ मेलबर्न रेनेगेड्स एकेडेमीका फर्गस ओ’निल, कलुम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले समान २–२ विकेट लिए।

नेपालले यो प्रतियोगितामा अहिलेसम्म पाँच खेल खेलिसकेको छ।

सुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको नेपालले चौथो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गर्दै पहिलो जित हात पारेको थियो।

नेपाल पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।

कुल ११ टोली सहभागी प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले ६ खेल खेल्ने कार्यक्रम छ। नेपालले अब पर्सि शुक्रबार पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ।

आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरूप नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० शृङ्खलामा भाग लिएको हो, जसपछि त्यहीं अभ्यास खेलहरू पनि खेल्ने तालिका छ।

प्रकाशित : बुधबार, भदौ ०४, २०८२१३:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :