अस्ट्रेलियामा नेपालको दुई जितमा चम्किए कर्णाली याक्सका २ खेलाडी

काठमाडौँ : अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल प्रिमियर लिगको फ्रेञ्चाइज टिम कर्णाली याक्सका दुई खेलाडी चम्किएका छन्।

नेपालले लगातार दोस्रो जित निकालेको दुवै खेलमा कर्णाली याक्सका दुई खेलाडी सोमपाल कामी र नन्दन यादवको हात महत्वपूर्ण रह्यो।

टप इन्ड टी–२० सिरिजमा मङ्गलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदा नन्दन यादव नायक बने।

तीन ओभर बलिङ गरेका नन्दनले १७ रन दिएर पाँच विकेट हात पारे। टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको थियो।

आफ्नो पाँचौँ खेलमा बुधबार नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दा सोमपाल कामी नायक  बने। नेपालको जितमा बलिङतर्फ सोमपाल कामीले पाँच विकेट हात पारे। चार ओभर बलिङ गर्दा १७ रन दिएर सोमपालले पाँच विकेट हात पारेका हुन् ।

पाँच खेल खेलिसकेको नेपालले तीन खेलमा लगातार पराजयको सामना गरेपछि दुई खेलमा लगातार जित निकालेको हो ।

पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले पराजित हुँदा तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले स्तब्ध भएको थियो।

चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ ले हराएउँदै खाता खोलेको थियो । बुधबारको खेलमा मेलबर्नमाथिको ३३ रनको जितसँगै तालिकामा नेपालले चार अङ्क जोडेको छ ।

याे जितसँगै ११ टिम सहभागी सिरिजमा नेपाल तालिकाको छैटौं स्थानमा उक्लिएको छ । नेपालले अर्को खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित : बिहिबार, भदौ ०५, २०८२१२:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :