स्याङ्जा : विश्व क्रिकेटमा चर्चित सन्दीप लामिछानेको जन्मभूमि अर्जुनचौपारी गाउँपालिकाले उनको जीवन यात्रा स्थानीय पाठ्यक्रममा समेटेको छ। सन्दीपको सम्मानमा गाउँपालिकाले क्रिकेट मैदान समेत निर्माण गरिसकेको छ।
कक्षा–४ को पहिलो पाठ ‘सन्दीप लामिछाने’ शीर्षकमा पालिका अध्यक्ष प्रकाश तिवारीद्वारा लेखिएको जीवनी समावेश गरिएको हो।
अर्जुनचौपारी गाउँपालिका–५, आरुचौरको तालपोखरीमा वि.सं. २०५७ साउन १८ गते जन्मिएका सन्दीप परिवारका पाँच सन्तानमध्ये कान्छा छोरा हुन्। बाल्यकालमा ‘सन्दे कान्छा’ नामले चिनिने उनले बाल शिक्षा भारतीय रेल्वे सेवामा कार्यरत पितासँग भारतमै प्राप्त गरेका थिए, जहाँ पहिलो पटक क्रिकेटसँग परिचित भएका थिए।
कक्षा–४ पूरा गरेपछि नेपाल फर्किएका सन्दीपले चितवन क्रिकेट एकेडेमीमा पूर्व कप्तान राजु खड्कासँग प्रशिक्षण सुरु गरे। सन् २०१६ (वि.सं. २०७३ वैशाख ४) मा नामिबियविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दै बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम स्थापित गरे।
दायाँहाते स्पिन बलिङका विशेषज्ञ सन्दीपले ४२ खेलमै ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन्।
आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा दिल्ली क्यापिटल्सबाट खेल्दै, साथै बङ्गलादेश, पाकिस्तान, आयरल्यान्ड, युएईलगायतका टिमसँगका खेलमा निर्णायक योगदान दिँदै, उनले नेपाललाई विश्व क्रिकेटको नक्सामा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।