पटकपटक मुलुकको प्रधानमन्त्री बन्नेहरु यहाँ धेरै छन् । तर, ‘जुन जोगी आएपनि कानै चिरेको’ अवस्था छ । न पाँच पटक प्रधानमन्त्री भएकाले देशको मुहार फेर्न सके, न तीन पटक । काम केही गर्न नसकेपनि ठूल्ठूला भाषण गर्ने क्रम भने चलिरहेकै छन् । जसको एउटा जल्दोबल्दो उदाहरण हो–माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति ।
उनी तीनपटक प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । उनको कार्यक्षमता जनताले देखिसकेका छन् । आफैंलाई हाँसोको पात्र बनाउँदै उनले केही दिनअगाडि भने,‘माओवादीसँग मात्र देशको मुहार फेर्ने खाका छ । माओवादीले भविष्यमा मौका पायो भने देशको मुहार फेर्छ ।’ यतिखेर माओवादी विपक्षीमा छ । यसअघि माओवादी सत्तापक्षमा थियो । तर, के प्रगति गर्यो ?
देशको मुहार फेर्ने, सामान्ती शोषकीहरुको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेप रोक्ने, जातभातको नाममा हुने विभेद बन्द रोक्ने, जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी दिने, गाउँदेखि शहरसम्म विकास गर्ने भनेर माओवादीले २०५२ फागुन १ गते हतियार उठायो । १० वर्ष लामो जनयुद्ध भयो । १७ हजार शहिद भए, हजारौं अंगभंग बने । हजारौंको कुनै अतापता छैन । उनीहरु अहिलेपनि बेपत्ता नै छन् ।
माओवादी शान्ति वार्तामा आएको पनि डेढ दशक भइसक्यो । तर, खोइ त देशको मुहार फेरिएको छ ? झन्झन् देश र जनता शिथिल बन्दै गएका छन् । माओवादी जनयुद्धपछि गाउँ खाली भयो, शहर भरियो । अहिले त शहर पनि रित्तिँदै गएको छ । शहर जोडेर कमाउन विदेश जानेको संख्या बाक्लो छ । दिनहुँ हजारौंले आफ्नो जन्मभूमि छोड्छन् । अब भनौं–हजारौंको ज्यान लिएर भएको जनयुद्धको के औचित्य रह्यो ?
माओवादी जनयुद्ध अगाडिसम्म जनता आफ्नै गाउँघरमा थिए । आफ्नै खेतबारी कमाउँथे, खान्थें । खेतहरु सबै हरियो थियो । तर, अहिले गाउँ उजाड बनेको छ । घरहरुमा ताल्चा लागेको छ । मान्छे बस्ने घरलाई बाँदरहरुले आफ्नो बासस्थान बनाएका छन् । खोलानालाको प्रयोग गर्ने कोही छैनन् । गाउँका विद्यालयहरु खण्डहर बन्दै गएको छ । पढ्नलाई विद्यार्थी छैनन् । गाउँ पुरै सुनसान छ ।
हिमाल, पहाड, तराई विस्तारै खाली बन्दै गएको छ । काठमाडौं उपत्यका र सदरमुकाममा फाट्टफुट्ट मान्छे देखिन्छन् । सरकारले गाउँगाउँमा पनि बाटोघाटोको निर्माण गरेको छ । बिजुली पुगेको छ । विडम्बना, प्रयोग गर्ने जनता छैनन् । साँच्नै नै देशको मुहार फेर्ने हो भने पहिले गाउँ फर्क अभियान चलाऔं । जनतालाई आ–आफ्नो जिल्ला फर्काऔं । किन कि जनतालाई आफ्नै खेतमा परिश्रम गरेर खाने बानीको विकास गराउन आवश्यक भइसकेको छ । तर, प्रचण्डले मौका पाउँदा पनि जनतालाई गाउँ फर्काउने इच्छा देखाएनन् ।
हुन त उनका पार्टीका नेताहरु समेत गाउँमा बस्दैनन् । सबै यतै घर ठड्याएर बसिरहेका छन् । चुनावको बेला गाउँ जान्छन्, जित्छन् अनि यहीँ बस्छन् । उनीहरुलाई जनताको दुःखकष्टबारे के थाहा ? जनता कस्तो समस्यामा छन् ? उनीहरुलाई जानकारी नै हुँदैन् । अनि यस्ता पनि जनप्रतिनिधि । आफ्नो कारणले जनता लखेटिए, उनीहरुलाई गाउँ फर्काउनुपर्छ भन्ने सोच प्रचण्डमा कहिल्यै आएन । जबसम्म जनता आआफ्नो जिल्ला फर्किँदैनन्, तबसम्म विकास सम्भव छैन ।
जहाँ मान्छे हुन्छ, त्यही विकास हुन्छ । विडम्बना, यति पनि सोच नभएकाले देशको मुहार फेछु भनेर जनतालाई भ्रम बाँड्दै हिँडेका छन् । आफूले पाँच वर्ष सरकार चलाउन पाएमा यो–त्यो गर्छु भन्ने प्रचण्डले तीन पटक प्रधानमन्त्री बन्दा के गरे ? माओवादीको सरकार हुँदा देशमा के प्रगति भयो ? जनताले मौका दिइरहे, तर प्रगति देखिएन । अनि अझै जनतालाई भ्रमित बनाउन खोज्ने ? नेतृत्वहरु सबै स्वार्थी छन् ।
जसरी हुन्छ, आफू र आफ्ना सन्तान पोस्ने क्रम जारी छ । पहिले स्वार्थ छोडौं अनि देशको कुरा गरौं । स्वार्थ राखेर देश विकास हुनै सक्दैन । पदमा जाने, आफ्नै आफन्तका निम्ति काम गर्ने परिपाटी प्रचण्ड र माओवादीका नेताहरुमा पनि व्यापक देखियो । जसले माओवादीको १० वर्षे जनयुद्धमाथि नै प्रश्न उठाएको छ । माओवादीले देश र जनताका लागि होइन, आफ्नो लागि जनयुद्ध गरेको भन्ने मानसिकता जनतामा विकास हुँदै गएको छ ।
प्रचण्डले २०६४ सालमा दुई क्षेत्रबाट चुनाव लडे । दुवै क्षेत्रबाट उनले चुनाव जिते । २०७० सालको चुनावमा उनी धनुषा पुगे । २०७४ सालको निर्वाचनमा चितवन पुगेका उनले २०७९ सालको निर्वाचनमा गोरखाबाट उम्मेदवारी दिएका थिए । जहाँजहाँबाट लडेपनि जनताले मतदान गरेर उनलाई जिताए । तर, उनलाई त्यो ठाउँको जनताको समस्याबारे थाहा छैन ।
आफ्नै निर्वाचन क्षेत्रमा उनी पाहुनाजस्तै भए । प्रचण्डको घर चितवन क्षेत्र नम्बर ३ मा छ । तर, उनको चुनाव क्षेत्र गोरखा छ । उनलाई सायदै त्यहाँको भूभागबारे केही जानकारी होला । चुनावको बेला झुल्किने, त्यसपछि नफर्किने पारा उनले पनि देखाइरहेका छन् । पहिलो कुरा त काम गर्नका लागि सत्ता चाहिँदैन । काम गर्ने मान्छेले जहाँ बसेर पनि गर्न सक्छन् ।
अनि जतिबेला पनि मैले मौका पाए भने यो गर्छु त्यो गर्छु भन्ने ? यस्तो भ्रमको खेती गरेर कहिल्यैसम्म जनताको आँखामा छारो हालिराख्ने ? पहिले काम गर, जनताले मौका दिइहाल्छन् । पहिलो संविधानसभाको निर्वाचनमा जनताले माओवादीलाई पहिलो पार्टी बनाएकै हो । तर, माओवादीले के दियो त जनतालाई ? केही न केही ? त्यसपछि पनि दुईपटक माओवादी सत्तामा पुग्यो ।
यद्यपि, त्यतिबेला पनि माओवादीले जनतामा आफ्नो जादु देखाउन सकेन । हिजो जनयुद्ध लडेर आएका माओवादी नेताहरु पनि विभिन्न काण्डमा मुछिए । उनीहरुले जनताको नजरमा इज्जत कमाउने होइन, बेइज्जत हुने काम गरे । त्यसैले त माओवादीको आज यो हविगत भएको हो । कुनै समय पहिलो पार्टी बनेको माओवादीलाई अहिले तेस्रोमा अडिन पनि मुश्किल छ ।
कुरा ठूल्ठूला तर काम नगर्ने प्रवृत्ति माओवादीमा छ । त्यो प्रवृत्ति नसुधारेसम्म जनताले माओवादीलाई पत्याउनेवाला छैनन् । कहिले एमालेसँग गएर टाँसिने न कहिले काँग्रेससँग ? यसरी माओवादीको अस्तित्व कतिञ्जेल टिक्ला ? आफ्नो खुट्टामा त उभिन नसक्नेले देशको मुहार फेर्ने । जनताको अपेक्षामाथि हरेकपल्ट पानी हाल्ने काम माओवादीले गरेको छ । प्रचण्डले देश र जनताको लागि लडेको भन्छन् ।
तर, देशको जनताले पायोचाँहि के ? वैदेशिक रोजगारी, वैदेशिक ऋण । हरेक घर परिवारबाट कोही न कोही विदेश गएका छन् । विदेश नगईकन खान नपाउने अवस्था छ । विदेशी हस्तक्षेप बढेको छ । देशको सीमाना छिमेकीले मिच्दै लगेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख घट्दै गएको छ । देशमा भ्रष्टाचार मौलाएको छ । जनता व्यवस्थादेखि नै वाक्कदिक्क भइसकेको छन् ।
जनता व्यवस्था फेर्ने मुडमा पुगिसकेका छन् नेतृत्वहरु देशको मुहार फेर्ने कुरा गर्दै हिँडेका छन् । अब नेतृत्वहरुले जे सुकै बोलेपनि जनताले पत्याउनेवाला छैनन् ।
अनुसा थापा
भक्तपुर