काठमाडौँ : नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेल पनि जित्दै उत्कृष्ट लय कायम राखेको छ। क्वालालम्पुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो।
८१ रनको सानो लक्ष्य पछ्याएको नेपालले १४.२ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। ओपनर जोए थापा सुरुवाती दबाबमा परे पनि शिवांश बजगाईं र प्रसिद्ध जैसीले संयमित प्रदर्शन गर्दै दोस्रो विकेटका लागि अविजित ७६ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए। शिवांशले ४२ बलमा ७ चौकासहित ३८ रन बनाए भने प्रसिद्धले ३३ बलमा ३ चौका प्रहार गर्दै ३३ रन जोडे।
यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले नेपाली बलिङको सामु घुँडा टेक्दै ३४.३ ओभरमा जम्मा ८० रनमै अलआउट भयो। जापानका कप्तान चार्ली हाराहिन्जले ३६ रन बनाए भने गाबी हाराहिन्जले १३ रनको योगदान दिए। अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न असफल रहे।
नेपालका लागि बाँया हाते स्पिनर शुभम खनाल चम्किए। उनले १० ओभरमा मात्र १५ रन खर्चेर ५ विकेट झारे। अभय यादवले २ विकेट लिए भने सुशील रावल र बिपिन प्रसाद शर्माले समान १-१ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो। लगातार दुई जितसहित नेपाल ४ अंक बटुल्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। जापान २ खेलमा १ जितसहित २ अंक लिएर दोस्रो स्थानमा छ।
नेपालले अब आफ्नो तेस्रो खेल २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ। यो प्रतियोगितामा समूह ए मा नेपाल, जापान, सिंगापुर, इन्डोनेसिया र भुटान छन् भने प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ।