स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १७५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर नेपालले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रनको योगफल बनायो।
टोलीका ओपनर माइकल लेविटले आक्रामक प्रदर्शन गर्दै ५३ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ८६ रनको अर्धशतकीय इनिङ खेले। शतकतर्फ अघि बढिरहेका लेविटलाई करण केसीको बलमा कप्तान रोहित पौडेलले क्याच गरे।
पाँचौँ विकेटका लागि लेविट र सकिब जुल्फिकरबीच ३३ बलमा ६३ रनको साझेदारी भएको थियो। सो साझेदारीलाई सन्दीप लामिछानेले तोडे, उनले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गरे।
त्यसपछि रोइलेफ भान डर मर्वेले २१ बलमा ३६ रन र आर्यान दत्तले १८ बलमा १७ रन बनाएर नटआउट रहे। नेदरल्याण्ड्सका अन्य ब्याटरहरू भने दोहोरो अंक पार गर्न असफल रहे।
बलिङतर्फ नेपालका करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए। अब नेपालले १७५ रनको लक्ष्य पछ्याउने छ।