सुपर ओभरमा हारेको बदला लियो नेपालले, चखायो नेदरल्याण्ड्सलाई हारको स्वाद

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट जित हात पारेको छ। नेदरल्याण्ड्सले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमै ४ विकेट गुमाएर पुरा गर्यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ खेले। उनले आफ्नो अर्धशतक ३८ बलमा पूरा गरेका थिए। यो उनको टि-२० आई करियरको ११औं अर्धशतक हो। उनले कुल ६० टि-२० आई खेलमा ११ अर्धशतक र १ शतक पूरा गरेका छन्। नेदरल्याण्ड्सविरुद्ध खेलेका ९ खेलमा यो उनको चौथो अर्धशतक हो।

कुशलले आफ्नो इनिङको क्रममा ९.४ ओभरमा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट जीवनदानसमेत पाए। अर्का ओपनर आसिफ शेखले ६ बलमा ७ रन बनाएर आउट भए। उनले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे। दोस्रो विकेटका लागि कुशलले डेब्यु खेल खेलिरहेका भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गरे। भीमले १६ बलमा २ चौका र १ छक्का सहित २७ रन बनाए। उनी नेपालको टि-२० आईमा खेल्ने ५२औं खेलाडी हुन् र उपकप्तान दीपेन्द्रसिंह ऐरीले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए।

कप्तान रोहित पौडेलले भने ठूलो योगदान दिन सकेनन्। उनी ७ बलमा ५ रनमा आउट भए। चौथो विकेटका लागि कुशल र आरिफ शेखबीच २७ बलमा ४४ रनको उत्कृष्ट साझेदारी बन्यो। आरिफले २३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रन बनाएपछि रिटायर्ड हर्ट भए। पाँचौँ विकेटका लागि आरिफसँग उपकप्तान दीपेन्द्रसिंह ऐरीले २० बलमा २७ रनको साझेदारी गरे। दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे भने लोकेश बमले ४ बलमा १२ रन प्रहार गर्दै छक्का हानेर टोलीलाई जितसम्म पुर्याए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको मध्यम योगफल तयार पारेको थियो। ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ८६ रनको अर्धशतक प्रहार गरे। उनी शतकबाट १४ रन टाढा रहँदै करण केसीको बलमा कप्तान रोहितबाट क्याच आउट भए।

लेविटले पाँचौँ विकेटका लागि सकिब जुल्फिकरसँग ३३ बलमा ६३ रनको साझेदारी गरे। सो साझेदारीलाई सन्दीप लामिछानेले तोडे, जसमा उनले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गरे। रोइलेफ भान डर मिर्वोले २१ बलमा ३६ रन र आर्यान दत्तले १८ बलमा १७ रन बनाउँदै नट आउट रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।

यस जितसँगै नेपालले ३ खेलमध्ये २ मा जित निकाल्दै ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उता, नेदरल्याण्ड्स पनि ४ अंकसहित दोस्रो स्थानमा खस्किएको छ, जसले डबल राउण्ड रॉबिन लिग अन्तर्गत आफ्नो सबै खेल पूरा गरिसकेको छ। स्कटल्याण्ड तालिकाको तेस्रो स्थानमा छ।

सिरिजको पहिलो भेटमा नेदरल्याण्ड्सले सोमबार नेपाललाई रोमाञ्चक खेलमा सुपर ओभरमार्फत पराजित गरेको थियो। अब नेपालले शुक्रवार स्कटल्याण्डसँग अन्तिम खेल खेल्नेछ। डबल राउण्ड रॉबिन लिगपछि अंक तालिकामा शीर्ष स्थानमा रहने टोली सिरिजको च्याम्पियन घोषित हुनेछ।

प्रकाशित : बिहिबार, असार ०५, २०८२२३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिरिज जित्ने लक्ष्यमा नेपाल, स्कटल्यान्ड टुरको आज अन्तिम खेल खेल्दै