स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा नेदरल्यान्ड्सबाट १५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको छ।
कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो।
नेदरल्यान्ड्सका लागि मध्यक्रमका तेजा निदामनुरुले सबैभन्दा बढी ३५ रन जोडे भने अन्त्यतिर सकिब जुल्फिकरको आक्रामक ब्याटिङले टोलीलाई १५० रन पार गर्न सफल बनायो। ओपनर म्याक्स ओ डाउडले १९ तथा माइकल लेभिटले २० रन बनाए।
नेपालका ललित राजवंशीले चौथो ओभरको पहिलो बलमा म्याक्सलाई आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाए। त्यसपछि सन्दीप लामिछानेले सातौं ओभरमा लेभिट र कप्तान स्कट एड्वार्ड्स (१) लाई आउट गर्दै नेपाललाई खेलमा फर्काए।
तेह्रो ओभरमा नोआ क्रोस आउट भएपछि नेदरल्यान्ड्स ९०–५ को अवस्थामा पुगेको थियो। तर, डेथ ओभरमा जुल्फिकरको विस्फोटक ब्याटिङले नेदरल्यान्ड्सलाई बलियो स्थितिमा पुर्यायो। तेजाले ३७ बलमा १ छक्का सहित ३५ रन बनाए भने जुल्फिकरले १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित २२ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशीले ४ ओभरमा २२ रन दिँदै १ विकेट लिए। नन्दन यादवले २ विकेट तथा कुशल भुर्तेलले १ विकेट लिए।
आजको खेलमा अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।