नेपाली क्रिकेट टोलीको आज ऐतिहासिक दिन : १००औं टी-२०आईमा नेपालले नयाँ रेकर्ड बनाउँला त ?

काठमाडौँ : नेपाली क्रिकेट टोलीले आज आफ्नो ऐतिहासिक १००औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ ।

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२०आई शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेल नै नेपालको सयौं टी–२०आई खेल हुनेछ ।

सन् २०१४ मा आईसीसी टी–२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पहिलोपटक सहभागी भएको नेपालले हङकङविरुद्धको खेलबाट आफ्नो टी–२०आई यात्रा प्रारम्भ गरेको थियो ।

त्यो खेलमा नेपाल विजयी भएको थियो । त्यसपछि बंगलादेशसँग पराजित भए पनि अफगानिस्तानलाई हराएर नेपालले अन्तर्राष्ट्रिय टी–२०मा आफ्नो प्रभाव जमाएको थियो ।

त्यतिबेलाको पहिलो टी–२०आई टोलीका एकमात्र सदस्य सोमपाल कामी मात्रै अहिलेको टोलीमा सक्रिय खेलाडी हुन् । तीव्र गतिका बलर कामी अहिले चोटका कारण यो शृंखलामा सहभागी हुन पाएका छैनन्, तर अघिल्ला श्रृंखलामा उनी टोलीको महत्त्वपूर्ण हिस्सा रहेका छन् ।

हालसम्म २ ओटा विश्वकप खेलेको नेपालले ९९ वटा टी–२०आई खेलमा ५५ जित हात पारेको छ भने ३९ खेलमा पराजय बेहोरेको छ । २ खेल बराबरीमा टुंगिएको छ भने ३ खेल नतिजाविहीन भएका छन् ।

व्यक्तिगत प्रदर्शनको हिसाबले दिपेन्द्रसिंह ऐरी टी–२०आईमा नेपालको लागि सर्वाधिक रन बनाएका छन् । उनले ७८ खेलमा १७५६ रन बनाएका छन् । त्यस्तै, कुशल भुर्तेलले ५७ खेलमा १४२० रन, कप्तान रोहित पौडेलले १३५८ रन र आसिफ शेखले १३५२ रन बनाएका छन् ।

बलिङतर्फ सन्दीप लामिछाने नेपालका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले टी–२० अन्तर्राष्ट्रियमा हालसम्म १०८ विकेट लिएका छन् । दोस्रो स्थानमा रहेका करण केसीले ९९ विकेट लिएका छन् । आजको खेलमा करणले आफ्नो १००औं विकेट पूरा गर्ने ऐतिहासिक अवसर पाउन सक्छन् ।

प्रकाशित : सोमबार, असार ०२, २०८२१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शतकीय टि२०आईमा नेपालले टस जित्यो, २ खेलाडीले गरे डेब्यु