काठमाडौँ : स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्ने तयारी गरेको छ।
खेल सोमबार असार २ गते नेपाली समय अनुसार बेलुका ७ : ४५ मा स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड क्रिकेट ग्राउण्डमा हुनेछ।
यस सिरिजको उद्घाटन खेल भने आइतबार राति स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच भईरहेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यस टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ।
टोलीमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंहले स्थान बनाएका छन् भने चोटका कारण सोमपाल कामी र गुलसन झा यस सिरिजबाट बाहिरिएका छन्। उनीहरूले यसअघि सम्पन्न आइसिसी लिग–२ को अन्तिम खेलहरू पनि गुमाएका थिए।
लिग–२ को एक दिवसीय सिरिजपछि अब पुनः यी तीन राष्ट्रबीच टी–२० सिरिज हुन लागेको हो। लिग–२ मा नेपालले चार खेलमध्ये तीनवटा जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख