काठमाडौँ : नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको चौथो खेलमा नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ ।
स्कटल्यान्डको डन्डीमा मङ्गलबार राति सम्पन्न यस सिरिजको अन्तिम खेलमा जितका लागि दुई सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २० रनमा समेटियो । सिरिजमा तेस्रो जित निकाले नेपालले नेदरल्यान्ड्सविरुद्ध ‘क्लिन स्विप’ गरेको छ ।
यसअघिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । यस्तै नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक रनले हराएको थियो । रोमाञ्चक अर्को खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बनेको थियो ।
विवादास्पद बनेको खेलमा नेदरल्यान्ड्सले पेनाल्टी स्वरुप १० रन उपहार पाएको थियो । ब्याटिङको क्रममा स्ट्राइकमा रहेका बसिर अहमद पिचको मध्यभागमा हिँडेका कारण नेपाललाई दुई पटक पाँच पाँच रनको पेनाल्टी लगाईएको हो ।
नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ३६ रन बनाए। यस्तै कप्तान स्कट एडवार्ड्सले ३०, ओपनर माइकल लेभिटले २७, काइल क्लेइनले २५, नोवा क्रोयसले २२, तेजा निदामनुरुले १७ र रोयलोफ भान दर मेर्वेले १६ रन बनाए।
बलिङमा नेपालका डेब्यु खेलाडी नन्दन यादव र सन्दीप लामिछानेले तीनतीन विकेट लिए। नन्दनले नौ ओभरमा एक मेडनसहित ३९ रन खर्चिए।
१० ओभर पूरै बलिङ गर्नुभएका सन्दीपले पनि ३९ नै रन खर्चिए। यस्तै ललित राजवंशीले एक मेडनसहित दुई विकेट, करण केसी र कुशल भुर्तेलले पनि एक एक विकेट झारे।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३६ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको अर्धसतकीय पारी खेले। उनले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतले उक्त रन बनाएका हुन् ।
यस्तै भीम सार्की र कप्तान रोहितकुमार पौडेलले ३५/३५, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११/११ तथा नन्दन यादवले अविजित १० रन बनाए।
बलिङमा नेदरल्यान्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिए। माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट झारे।
यस जितसँगै नेपालले १६ खेलबाट १२ अङ्क बनाएर नेपाल सातौँ स्थानमा छ । २३ खेलबाट २६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । १९ खेलबाट २४ अङ्क बटुलेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।
लिग–२ मा सहभागी आठ टोलीले कूल नौ सिरिजमा ३६ खेल खेल्नेछन् । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो । नेपालले अब स्कटल्यान्डमा तीन टोलीबिच टी–२० सिरिज पनि खेल्नेछ ।