दोलखाको गौरीशङ्कर गाउँपालिका–४, डेपुङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
शुक्रबार साँझ साढे सात बजे कालिन्चोक गाउँपालिकाको सिङ्गटी बजारबाट झ्याकु जाँदै गरेको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो।
दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। बोलेरोमा सवार ६ जनामध्ये ३ जना घाइते भएका थिए। तीमध्ये एकको अवस्था सामान्य छ भने दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेमध्ये डेपुङकी ३२ वर्षीया डोल्मा शेर्पालाई चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल पुर्याइएको थियो, जहाँ उपचारका क्रममा गएराति ११:३० बजे उनको मृत्यु भएको हो।
अर्की घाइते ४५ वर्षीया फूलमाया शेर्पाको अवस्था समेत गम्भीर रहेकाले चरिकोट लैजाने क्रममा आज बिहान ५:४५ बजे बाटोमै निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकी छिरी शेर्पाको सिङ्गटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।