लयमा फर्कियो नेपाल : देशाई हुँदा १० खेलमा २ खेल जितेको नेपालले ल आएपछि २ खेलमा निकाल्यो २ जित

काठमाडौँ : नेपालले स्कटल्यान्डमा जारी आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ ।

डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक रनले हराएको थियो । नेपालको जितका आरिफ शेखले अर्धसतकीय इनिङ्स खेले।

उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रन बनाए। आरिफ प्लेयर अफ दि म्याच भए।

यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन र गुलसन झाले अविजित ११ रन बनाए।

बलिङमा नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिए। भिभियन किङमा र पल भान मिकेरनले एक एक विकेट झारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २५ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि नोआह क्रोयसले सर्वाधिक ४८ रन बनाए। यस्तै कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र रोलफ भान डर मर्वेले २१ रन बनाए।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए। करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुई दई विकेट झारे।

जितसँगै १४ खेलबाट १० अङ्क बनाएको नेपाल तालिकाको सातौँ स्थानमा छ । २१ खेलबाट २६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।

लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो ।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।

मोन्टी देशाई नेपालको हेड कोच हुँदा १२ खेलमा २ खेल नतिजाविहिन हुँदा २ पोइन्ट्स बटुलेको थियो भने २ खेलमा मात्र जित निकालेको थियो।

नेपालको हेड कोचमा स्टुअर्ट लको आगमनसँगै नेपालले लय पक्रेको छ। स्टुअर्ट लले नेपालको हेड कोचको कमान सम्हालेसँगै नेपालले युरोप कन्डिसनमा पहिलोपटक लगातार २ खेल जितेको छ।

प्रकाशित : बिहिबार, जेठ २३, २०८२१५:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :