आज स्कटल्यान्डविरुद्ध नेपालको असली अग्नि परीक्षा, अपेक्षाकृत प्रदर्शन गर्ला त नेपाली टोलीले ?

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज सोमबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै चौथो चरणको सिरिज सुरुवात गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे स्कटल्याण्डको डण्डीस्थित फोर्टहिल क्रिकेट ग्राउण्डमा हुँदैछ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिजमा नेपाल लामो समयपछि फर्किएको हो । सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग–२ मा टिकिराख्न आगामी खेलहरू चुनौतीपूर्ण रहेको छ ।

त्यसैले स्कटल्यान्डविरुद्धको खेल नेपालका लागि अग्नि परीक्षा नै हुने छ । नेपालले यसअघि लिग–२ अन्तर्गत २०२४ को नोभेम्बरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेलेको थियो ।

यस सिरिज नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ललाई नेपालको प्रशिक्षण सम्हाल्ने अवसर पनि सुरु भएको छ ।

त्यसैले प्रशिक्षक लका लागि पनि यो खेल अग्नि परीक्षा हुने छ । नेपाल र स्कटल्यान्डबिच यसअघि भएका भिडन्तमा नेपाल बलियो देखिएको छ ।

यसअघि भएका आठ एक दिवसीय खेलमा नेपाले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ । एक खेल भने रद्द भएको थियो ।

सोमबारदेखि लिग–२ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो ।

जसअन्तर्गत नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग १०२ रनले पराजित भयो भने आइतबारका लागि तय भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो ।

सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपाल अहिले लिग–२ मा १२ खेलबाट ६ अङ्क जोड्दै तालिकाको अन्तिममा छ । १६ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

यस्तै शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र सातौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) को १६ खेलबाट ६ अङ्क छ ।

नेपाले यस सिरिजको पहिलो खेल सोमबार स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।

सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघिनै रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिसकेको छ । टोलीमा कप्तान राेहितसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल हुनुहुन्छ ।

यस्तै सिरिजका लागि क्यानले हालै दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

प्रकाशित : सोमबार, जेठ २०, २०८२११:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालको हातबाट फुत्किसकेको खेलमा करणले हिरो बन्दै खेल जिताए