काठमाडौँ : आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ। फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २९७ रनको विशाल लक्ष्य अन्तिम ओभरको अन्तिम बलमा पूरा गर्दै अविश्वसनीय जित दर्ता गर्यो।
नेपालका लागि खेलका नायक बनेका करण केसीले विस्फोटक ब्याटिङ गर्दै ४१ बलमा ३ चौका र ४ छक्का प्रहारसहित अविजित ६५ रन बनाए। अन्तिम बलमा आएको वाइडको रनले नेपाललाई जितको आँघार पुर्यायो।
यसअघि नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४४ बलमा ११ चौकासहित ५३ रन बनाए। उनले ओपनिङ जोडी आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाए।
मध्यक्रममा गुल्सन झाले ३० बलमा ३ चौका र ३ छक्का सहित आक्रामक ४२ रन बनाए। भीम सार्कीले ४० रन तथा कप्तान रोहित कुमार पौडेलले ३७ रन जोडे।
नेपालले एक समय १५२ रनमा केवल २ विकेट गुमाएको अवस्थामा बलियो स्थितिमा देखिएको थियो। तर त्यसपछि लगातार विकेट गुमाउँदा टोली दबाबमा आएको थियो।
बलिङतर्फ स्कटल्यान्डका ब्रेण्डन मक्कमलानले ३ विकेट लिए भने माइकल लिस्क र ज्याक जार्भिसले समान २-२ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो। टोलीका लागि चार्ल्स टेयर्सले सबैभन्दा धेरै ८० रन बनाए। उनलाई करण केसीले आसिफ शेखको क्याचमा आउट गराएका थिए।
त्यस्तै, फेन्ली म्याक्रिथले ५५, कप्तान रिची बेरिङ्टनले ४० तथा म्याथ्यु क्रसले ३९ रनको योगदान दिए।
नेपालका बलरहरू मध्ये सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २–२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट झारे।
यो रोमाञ्चक जितसँगै नेपालले सिरिजको सशक्त सुरुवात गरेको छ।