काठमाडौँ : काठमाडौंबाट प्रहरीले ९५ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
बैशाख २१ गते आइतबार ४ बजेको समय काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
४ जना व्यक्तिहरूको साथमा रहेको झोला रीतपूर्वक खानतलासी गर्दा स्रोत खुल्न नसकेको रु. ९५,१७,५००।- (अक्षरेपि पन्चानब्बे लाख सत्र हजार पाँच सय) रुपैयाँ रकम फेला पारिएको र उक्त रकम सहित निजहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा काठमाडौं जिल्ला तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरी जिल्ला सप्तकोशी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई, लमजुङ जिल्ला दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।
उनीहरुको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले झोला खोलेर निरीक्षण गरेको थियो।
त्यसभित्र ९५ लाख १७ हजार ५ सय रूपैयाँ फेला परेको हो।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ।