रोमारियो शेफर्डको विस्फोटक ब्याटिङ, आईपीएल इतिहासमै दोस्रो सबैभन्दा छिटो अर्धशतक बनाए

एजेन्सी :  विराट कोहलीको शानदार प्रदर्शनको मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई २१४ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ। शनिबार जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औँ खेलमा बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१३ रन जोडेको छ।

इनिङको सुरुवातमा विराट कोहली र जेकब बेथेलले आक्रामक ब्याटिङ गर्दै पहिलो विकेटका लागि ९७ रनको महत्त्वपूर्ण साझेदारी गरे। दुवैले जम्मा ५९ बलमा यो स्कोर बनाए। कोहलीले ५ चौका र ६ छक्का प्रहार गर्दै ३३ बलमा ६२ रन जोडे। यो प्रदर्शनसँगै कोहलीले ओरेन्ज क्याप दौडमा साई सुदर्शनलाई एक रनले पछि पार्दै अग्रता लिएका छन्, उनले अहिलेसम्म यस सिजनमा ५०५ रन पुरा गरिसकेका छन्।

कोहलीले आफ्नो आईपीएल करियरको ६२ औँ अर्धशतक पनि पुरा गरे, जसले उनलाई डेविड वार्नरको सर्वाधिक अर्धशतकको कीर्तिमानी बराबरी गरेका छन्। साथै, उनीसँग ८ वटा आईपीएल शतक पनि छन्, जुन एक नयाँ कीर्तिमान हो। बेथेलले पनि प्रभावशाली प्रदर्शन गर्दै ३३ बलमा ५५ रन जोडे, जसमा ८ चौका र २ छक्का समावेश थिए।

तर प्रमुख दुई ब्याट्सम्यान आउट भएपछि बेंगलुरुले छिटो विकेट गुमाउन थाल्यो। देवदत्त पडिक्कलले १७ रन, कप्तान रजत पटिदारले ११ रन र जितेश शर्माले ७ रनमा पभेलियन फर्किए।

पारीको अन्त्यतिर, रोमारियो शेफर्डले अविश्वसनीय ब्याटिङ गर्दै मात्र १४ बलमा ५३ रन बनाए। उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए, जसले बेंगलुरुको स्कोरलाई २ सय नाघ्न मद्दत गर्‍यो।

रोमारियो शेफर्डले केवल १४ बलमा अर्धशतक पूरा गरी आईपीएल इतिहासमै संयुक्त रूपमा दोस्रो सबैभन्दा छिटो अर्धशतक बनाएका छन्।

रोमारियो शेफर्डको यस कीर्तिमान केएल राहुल (२०१८) र पैट कमिन्स (२०२२) सँग बराबरी हो। यशस्वी जयसवालले २०२३ मा १३ बलमा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए।

चेन्नईका बलर मथिसा पथिरानाले उल्लेखनीय बलिङ गर्दै ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। नुर अहमद र साम करनले पनि १-१ विकेट लिएर पथिरानालाई साथ दिए।

प्रकाशित : शनिबार, बैशाख २०, २०८२२१:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :