एजेन्सी : चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले बुधवार पञ्जाब किंग्ससँग चार विकेटले हार बेहो¥यो। यो फ्रेन्चाइज इतिहासमा लगातार दोस्रोपटक प्लेअफमा स्थान बनाउन असफल रह्यो।
श्रेयस अय्यरको कप्तानी मिलेको पञ्जाबले छैटौँ जित दर्ता गर्यो भने चेन्नईले दसौ खेलमा आठौँ हार भोग्यो। पन्जाबले १ सय ९१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर हासिल गर्यो। विजयमा कप्तान श्रेयसले सर्वाधिक ७२ र ओपनर प्रभसिमरन सिंहले ५४ रन बनाए। प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन थपे।
चेन्नईका लागि मथिसा पथिराना र खलिल अहमदले समान दुई-दुई विकेट लिएका थिए, भने नूर अहमद र रविन्द्र जडेजाले समान एक–एक विकेट हात पारे। टस गुमाएर पहिले ब्याटिङ गरेको चेन्नई १९.२ ओभरमा १ सय ९० रनमा अलआउट भयो। सुरुवाती साझेदारी कमजोर भएपछि चौथो विकेटका लागि साम कुरान र डिभाल्ड ब्रेभिसले ७८ रन जोडे पनि अन्त्यसम्म टिमलाई बचाउन सकेनन्। सामले विस्फोटक ब्याटिङ गर्दै ८८ रन बनाउँदा ब्रेभिस ३२ रनमा आउट भए।
पञ्जाबका युजवेन्द्र चाहलले तीन ओभरमा ३२ रन खर्चेर चार विकेट लिए, जसमा उनको अन्तिम ओभरको ह्याट्रिक पनि सामेल थियो। अर्का बलर अर्शदीप सिंह र मार्को जानसेनले समान दुई–दुई विकेट बटुले। आईपीएल तालिकामा पन्जाब १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने चेन्नई चार अंक लिएर पुछारमै छ।