काठमाडौं । केही समयअघि पाकिस्तानी क्रिकेट बोर्डको अध्यक्ष रहेका रमिज राजाले एउटा चाखलाग्दो कुरा गरेका थिए — “पाकिस्तानी क्रिकेट आज भारतकै कारण टिकेको हो।”
उनको संकेत स्पष्ट थियो — विश्व क्रिकेटबाट उठ्ने कुल आम्दानीको झन्डै ८० प्रतिशत भारतकै योगदानले भरिएको हुन्छ। यही आम्दानीबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्डलाई पनि सहयोग पुर्याउँछ।
हालै, रमिज राजाले अर्को बहस छेडेका छन् — ‘आइपिएल ठूलो कि पिएसएल?’ यहाँ ‘ठूलो’ भन्नाले आर्थिक हैसियत होइन, फ्रेन्चाइज क्रिकेटको स्तर र गुणस्तरको कुरा हो। रमिजका अनुसार, चमकधमकको हिसाबले आइपिएल अगाडि छ, तर खेलको गुणस्तरको दृष्टिले पिएसएल उत्तम छ। उनले यस्तो टिप्पणी गरेपछि विवाद र बहस चुलिएको छ।
ठ्याक्कै यस्तो अवस्थामा, दुवै लिगहरू एकै समयमा भइरहेका छन्, अनि भारत–पाकिस्तानबीचको राजनीतिक सम्बन्ध पनि निकै तनावपूर्ण छ। पहलगाम आक्रमणपछिको वातावरणले स्थिति झन् चिसिएको छ। तर यहाँ हामी राजनीतिक द्वन्द्व होइन, क्रिकेट सम्बन्धी प्रतिस्पर्धाको कुरा गरिरहेका छौं।
पाकिस्तानी सञ्चारमाध्यमहरू अहिले पिएसएलको गुणस्तरको चर्चा गर्दै व्यस्त छन्। लगभग हरेक खेलाडीलाई एउटै प्रश्न सोधिन्छ — “तपाईंको नजरमा आइपिएल राम्रो कि पिएसएल?”
अधिकांश खेलाडीहरू खुलेर भन्छन् — ‘ठूलो त आइपिएल नै हो।’ उनीहरूको भनाइ छ, पिएसएल मात्रै होइन, कुनै पनि फ्रेन्चाइज लिग आइपिएलसँग तुलना गर्न सक्दैन। बाँकी सबै लिगहरूको प्रयास भनेको आइपिएलपछि दोस्रो स्थान सुरक्षित गर्नु मात्र हो।
विश्व खेलकुदको आर्थिक परिदृश्यमा इन्डियन प्रिमियर लिग (आइपिएल) अहिले पनि सबैभन्दा धनी लिगको रूपमा उभिएको छ। यस्तो अवस्थामा पाकिस्तान सुपर लिग (पिएसएल) आइपिएलसँग तुलना गर्ने स्थितिमा छैन। जहाँसम्म खेल स्तरको कुरा छ, त्यहाँ पनि अधिकांश विज्ञ र समर्थकले आइपिएललाई नै अग्रणी मान्छन्।
भारतीय मिडियामा प्रायः सोधिने प्रश्न हुन्छ — ‘आइपिएल र पिएसएलमध्ये कुन रोज्ने?’ र यसको उत्तर प्रायः एउटै हुन्छ — आइपिएल।
यद्यपि, रमिज राजाको विचारसँग सहमत नभएका केही पूर्वक्रिकेटर पनि छन्। तीमध्ये एक हुन् रसिद लतिफ। लतिफको भनाइ छ — पाकिस्तानले आफ्नो लिगलाई राम्रो बनाउन ध्यान दिनु पर्छ, तुलना गरेर होइन। उनको विचारमा, पिएसएललाई स्वतन्त्र रूपमा राम्रो बनाउन सकिन्छ, आइपिएलसँग तुलना गर्नु आवश्यक छैन।
हाल पिएसएलमा सहभागी विदेशी खेलाडीहरूमध्ये डेविड वार्नर जस्तै ठूला नामहरू पनि छन्। तर उनी हाल पाकिस्तानमा किन खेलिरहेका छन् भने, आइपिएलको अक्सनमा उनले बोली पाएका थिएनन्। नत्र त उनले लामो समयसम्म आइपिएलमा खेलेका थिए।