आज दिउँसो साढे तीन बजेपछि काठमाडौं उपत्यकाका केही स्थानमा एक्कासि भारी वर्षा भयो, जसले झण्डै बर्खाको झल्को दिलायो। अहिले मौसम केही थामिएको देखिए पनि आकाश गहिरो कालो र नीलो देखिन्छ, र लगातार गर्जन गरिरहेको छ, जसले वातावरणलाई अझै डर लाग्दो बनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो समय पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहँदै आएको छ। यो प्रणाली हिउँददेखि प्रि–मनसुनसम्म सक्रिय रहने प्रावृत्तिमा पर्छ। यसबाहेक, स्थानीय वायुले समेत हालको मौसममा उल्लेखनीय प्रभाव पारिरहेको छ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार, बंगालको खाडीबाट जलवाष्पयुक्त वायुले नेपालतर्फ प्रवेश गरिरहेकाले काठमाडौंसहित देशका धेरै ठाउँहरूमा वर्षा भइरहेको हो। हाल सक्रिय प्रणाली पूर्वतर्फ सर्दै गएकोले उपत्यकाको केही भागमा पानी थामिएको देखिएको हो।
अघिल्ला तीन घन्टामा अर्घाखाँची, गुल्मी, प्यूठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत जिल्लाहरूमा वर्षा जारी छ। तर, कर्णाली प्रदेशमा भने अपेक्षाकृत न्यून वर्षा भएको विभागले जनाएको छ।
बिहीबार कोशी प्रदेशको पहाडी र तराई भेगका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, देशभरका पहाडी भू–भागका केही र बाँकी भागका थोरै ठाउँमा वर्षा हुने भएकाले कृषकलाई अहिले बालीनाली भित्र्याउने कार्य नगर्न आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले यो हप्ताभर मौसममा उल्लेख्य सुधार नआउने जनाउँदै गहुँ, मुसुरोजस्ता बाली अर्को हप्ता मात्रै भित्र्याउन सुझाव दिएको छ।
मौसमविद्हरूका अनुसार, हाल देशभर फैलिरहेको प्रणाली वैशाख ६ गतेसम्म अझ सक्रिय बन्दै जान सक्नेछ। अहिलेको प्रि–मनसुन अवधिमा नै उल्लेखनीय वर्षा भइरहेको देखिँदा, आउँदो मनसुन याममा पनि औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
भर्खरैको एक घन्टामा काभ्रेपलाञ्चोकको मण्डनमा २० मिलिमिटर वर्षा मापन गरिएको छ। ललितपुरको खुमलटारमा ९, खोटाङको दूधकोशीमा ९.८, ओखलढुंगामा ८, र दोलखाको जिरीमा १८ मिलिमिटर वर्षा भएको छ।
गत २४ घन्टामा मापन गरिएका १८१ स्थानहरूमध्ये सबैभन्दा धेरै झापाको अनारमनी बिर्तामा ७६ मिलिमिटर वर्षा मापन भएको छ।