काठमाडौं : कक्षा १२ को परीक्षा अब यही वैशाख २१ गतेदेखि सुरु हुने भएको छ। प्रारम्भिक तालिका अनुसार यही वैशाख ११ गते (पर्सि) बाट परीक्षा सुरु हुने भनिएपनि, हाल जारी शिक्षक आन्दोलनको प्रभावका कारण परीक्षा स्थगित गरी नयाँ मिति तय गरिएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले मंगलबार साँझ परीक्षा सारिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई भेटी परीक्षा केही दिन पछाडि सार्न निर्देशन दिएपछि बोर्डले वैशाख २१ गतेबाट परीक्षा सुरु गर्ने निर्णय गरेको हो।
यद्यपि परीक्षाको विस्तृत तालिका भने बोर्डको भोलिको बैठकपछि मात्र सार्वजनिक गरिनेछ। स्रोतका अनुसार बोर्डले बुधवार बैठक गरी तालिका तय गर्नेछ।
शिक्षकहरूको आन्दोलनलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले परीक्षा सार्न आग्रह गरेका थिए। नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्न माग गर्दै आलोपालो आन्दोलन गरिरहेका छन्। सरकार भने अझै उनीहरूको माग सम्बोधन गर्न असमर्थ देखिएको छ।
यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूको पक्षमा आवाज उठाउँदा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलको समर्थन नपाउने देखिएपछि सोमबार राजीनामा दिएकी छन्। उनले शिक्षकका मागहरूमाथि छलफलका लागि विभिन्न प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेकी थिइन्।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार छलफलका लागि विशेष बैठक बसेको थियो। प्रारम्भिक रूपमा बोर्डले परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न सबै संयन्त्र प्रयोग गर्ने तयारी गरेको थियो, यहाँसम्म कि शिक्षकहरू विद्यालय नफर्किएमा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पसमेत छलफलमा थियो। तर, प्रधानमन्त्रीको निर्देशनपछि बोर्डले अन्ततः परीक्षा सार्ने निर्णयमा पुगेको हो।
अब परीक्षा वैशाख २१ गतेदेखि सुरु हुनेछ भने तालिका चाँडै सार्वजनिक गरिनेछ।