बक्स अफिसमा चिप्लियो ‘कर्मा’, निर्माताको लगानी ‘बालुवामा पानी’

सौरभ चौधरीको लेखन र निर्देशनमा बनेको फिल्म ‘कर्मा’ ले नेपाली बक्स अफिसमा खासै प्रभाव जमाउन सकेन । भोलि शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गर्न लाग्दा पनि फिल्मका केही थोरै हलहरूमा मात्र औपचारिकताका लागि शोज दिइएका छन् । राजधानीका प्राय: हलहरूले फिल्मलाई तालिकाबाट हटाइसकेका छन् । क्यूएफएक्स लगायतका नाम चलेका मल्टिप्लेक्सहरूले ‘कर्मा’लाई दोस्रो साताको शोज नै नराख्ने निर्णय गरेका छन्, जसको अर्थ–फिल्म एक सातामै मैदान छाड्दैछ ।

यस्तो अवस्थामा प्रश्न उठ्छ: बिपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुषाल, दिव्य देवजस्ता सशक्त कलाकारहरू भए पनि फिल्म किन टिक्न सकेन?

नयाँ वर्षको अवसरमा रिलिज गरिएको भए पनि फिल्मले अपेक्षित उत्साह जगाउन सकेन । ‘लक्की चार्म’ मानिएकी उपासना सिंह ठकुरीको उपस्थितिले समेत फिल्मलाई बचाउन सकेन । निर्देशक सौरभ चौधरी, जसले ‘अगस्त्य: च्याप्टर १’ मा प्रशंसा बटुलेका थिए, यसपटक भने उनी आफ्नो प्रस्तुतिमा चिप्लिएका देखिए ।

फिल्मको कथावस्तु कमजोर भयो, जसले दर्शकलाई सुरुदेखि अन्त्यसम्म समात्न सकेन । सिनेमाघरमा बसेका दर्शकहरूले फिल्मसँग भावनात्मक वा मनोरञ्जनात्मक सम्बन्ध नै कायम गर्न सकेनन् । त्यसमा पनि, निर्देशकले फिल्मलाई एक ‘एक्सन फिल्म’को रुपमा प्रचार गरे पनि वास्तविकतामा एक्सनको उपस्थिति न्यून थियो । क्लाइमेक्सको एक मात्र द्वन्द्व दृश्य बाहेक कुनै उल्लेखनीय एक्सन दृश्य देखिएन ।

मुख्य भूमिकामा रहेका बिपिन कार्की – जसको अभिनय क्षमतामा सधैं विश्वास गरिन्छ – यसपटक भने अपेक्षित रूपमा प्रस्तुत हुन सकेनन् । एक्सन अवतारमा उनी जम्न नसक्नुको कारण नै दर्शकले फिल्ममा अरुचि देखाएको बुझ्न सकिन्छ। भूमिका र पात्रको छनोटमा गल्ती भएको स्पष्ट देखिन्छ ।

गीतसंगीततर्फ हेर्दा, सुशान्त केसी र दुर्गेश थापाजस्ता चर्चित गायकहरूको गीत फिल्ममा भए तापनि, तिनले फिल्मको प्रचार वा हाइप निर्माणमा खास भूमिका खेलेनन् ।

नयाँ निर्माता वसन्त लम्सालको लगानी यसपटक ‘बालुवामा पानी’ भएको देखियो । फिल्मको समग्र तयारी, प्रचारप्रसार, प्रस्तुतिकरण, र निर्देशनले अपेक्षा पुरा गर्न नसकेको कारण फिल्म बक्स अफिसमा असफल हुन पुग्यो ।

‘कर्मा’ एउटा सिकाइको उदाहरण बन्यो — जहाँ राम्रो कलाकार, नाम चलेका गायक र नयाँ वर्षजस्तो उपयुक्त समय हुँदाहुँदै पनि कथा र प्रस्तुतिकरण कमजोर हुँदा दर्शक तान्न नसकिने रहेछ भन्ने प्रमाणित भयो ।

प्रकाशित : बिहिबार, बैशाख ०४, २०८२१७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :