नेपालको लगातार तेस्रो जित, विश्वकप यात्रामा बाधा बन्न सक्छ अफगानिस्तान

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। बुधबार मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई सहज रुपमा ९ विकेटले पराजित गर्‍यो।

नेपालका बलर युवराज खत्रीले सशक्त बलिङ प्रदर्शन गर्दै चार विकेट हात पार्दा हङकङको इनिङ धराशायी भयो। यसअघि नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डीएलएस) मेथोडमार्फत पाँच रनले र दोस्रो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो।

तीन जितसहित नेपालले अहिले सम्म प्रतियोगितामा ६ अङ्क जोडेको छ। पाँच टोली सहभागी यस प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल शनिबार अफगानिस्तानविरुद्ध खेल्नेछ। प्रतियोगिताको शीर्ष टोलीले सन् २०२६ मा हुने यु–१९ विश्वकपमा स्थान बनाउनेछ।

बुधबारको खेलमा हङकङले टस जितेर पहिले ब्याटिङ गरेको थियो। उनीहरूले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ११५ रन बनाए। कप्तान शिव माथुरले संघर्षपूर्ण अर्धशतक प्रहार गर्दै ६३ रन जोडे। उनले ११६ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए। आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रनको योगदान दिए।

नेपालका लागि युवराज खत्रीले चार विकेट लिँदा विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिएका थिए।

एक सय १६ रनको साधारण लक्ष्य पछ्याउँदै नेपालले मात्र १२.३ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो। ओपनर शाहिल पटेलले ८ चौकासहित ४२ रन अविजित रहँदै टिमलाई जितको नजिक पुर्‍याए। कप्तान नरेन भट्टले नटआउट ३९ रन तथा निरजकुमार यादवले २३ रन बनाए।

हङकङका बलर सयन पुरीले मात्र एक विकेट लिएका थिए। दुई खेलमा हार बेहोरेको हङकङ अहिलेसम्म अंकविहीन रहेको छ।

प्रकाशित : बुधबार, बैशाख ०३, २०८२१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

९ औँ पटक विश्वकप खेल्ने सपना देख्दैछ यु–१९ टोली, बाधक बन्न सक्छ अफगानिस्तान