आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटमा नेपालले दमदार सुरुवात गर्दै लगातार तीन खेल जितेको छ।
पहिलो खेलमा युएईलाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा ओमानमाथि ८ विकेटको सहज जित निकालेको थियो। तेस्रो खेलमा बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरुद्ध ९ विकेटको सानदार जित दर्ता गर्दै नेपाल अपराजित रह्यो।
तीन जितपछि अब नेपालले शनिबार अफगानिस्तानसँग निर्णायक भिडन्त खेल्नेछ। उक्त खेल पनि तल्लो मुलपानी मैदानमै हुनेछ।
अफगानिस्तानले पनि अहिलेसम्म खेलेका ३ खेलमा जित निकालेको छ र बुधबार युएईविरुद्धको खेलमा डि. एल . मेथडबाट १८० रनको शानदार जित दर्ता गरेको छ। त्यसैले शनिबार हुने नेपालविरुद्धको खेल दुबै टिमका लागि निर्णायक बन्नेछ।
नेपाल र अफगानिस्तानले यसअघि अभ्यासका रूपमा तीन एकदिवसीय खेल खेलेका थिए। पहिलो खेलमा अफगानिस्तानले सहज जित हात पारेपनि दोस्रो खेलमा नेपाल एक रनले पराजित भयो भने अन्तिम खेलमा नेपाल विजयी भयो।
त्यस अभ्यास सिरिजले हालको छनोट खेलमा मनोवैज्ञानिक लाभ मिलेको नेपालका कप्तान नरेन भट्ट बताउँछन्। युएईविरुद्ध अर्धशतक बनाएका उनले बुधबार हङकङविरुद्ध पनि शानदार प्रदर्शन गरे। पछिल्ला केही इनिङ्समा लय फेला परेको भन्दै उनले आफ्नो आत्मविश्वास बढेको उल्लेख गरे।
नेपालका लागि लेगस्पिनर युवराज खत्री पछिल्ला दुई खेलमा मात्र ९ विकेट लिन सफल भएका छन्। कप्तान भट्टले युवराजको प्रदर्शनले टोलीलाई बलियो बनाएको बताए।
प्रशिक्षक शक्ति गौचनले युवराजलाई ‘टोलीको ट्रम्प कार्ड’ भन्दै प्रशंसा गरे। यद्यपि, युवराजले अफगानिस्तानविरुद्धको अभ्यास सिरिज खेलेका थिएनन्, किनभने उनी त्यतिबेला चोटका कारण बाहिर थिए।
अब शनिबार हुने निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गर्न सके, सन् २०२६ मा जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने यू-१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ। एसिया क्षेत्रबाट एक मात्र टोली विश्वकपमा छनोट हुने भएकाले यो खेल अत्यन्तै महत्वपूर्ण छ।
नेपालले अघिल्लो संस्करणमा दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक, र सन् २०१२ तथा २०१६ मा गरी हालसम्म आठ पटक यू-१९ विश्वकप खेलिसकेको छ। अब नवौं पटकको सहभागिता नजिक छ—जित हात पार्न सकेमा।