काठमाडौँ : – नवग्रह मण्डलका राजा सूर्यदेव जेठ ३२ गते साँझ ६ बजेर ४३ मिनेटमा वृष राशिबाट निक्लिएर मिथुन राशिमा गोचर गर्नेछ। जेठ ३२ गतेदेखि साउन १ गतेसम्म सूर्यदेव मिथुन राशिमा नै विराजमान रहनेछ। मिथुन राशिमा सूर्यको गोचरको प्रभाव १२ वटै राशिहरुमा पर्नेछ, जसमध्ये ४ राशिका जातकले विशेष सावधानी अपनाउन आवश्यक देखिन्छ। यदि उनीहरुले सतर्कता नअपनाउने हो भने नोकरीमा कठिनाईसँगै स्वास्थ्य अवस्थामा पनि खराबी आउनेछ। सूर्य गोचरले ४ राशिमा कस्तो नकारात्मक असर पार्ला त ?
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सूर्यदेव वृष राशि छोडेर मिथुन राशिमा जाँदैछ। यस गोचरकालमा तपाईले सतर्कता अपनाउन आवश्यक छ। आफ्नो स्वास्थ्य अवस्थालाई हेलचेक्राई नगर्नुहोस्। यस अवधिमा सवारी साधन सावधानीपूर्वक चलाउनुहोला। बोलीमा संयमता अपनाउनुहोला, अन्यथा दाम्पत्य जीवनमा कटुता आउन सक्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
सूर्यको गोचरले कर्कट राशिका जातकमा स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउन सक्छ। यस समयमा शत्रुहरूले हाबी हुने प्रयास गर्न सक्छन्। वैदेशिक व्यापारसँग सम्बन्धित व्यक्तिहरूले आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ। तर, वैदेशिक यात्राको सम्भावना सृजना भइरहेको छ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सरकारी जागिरसँग सम्बन्धित व्यक्तिहरूले होसियारीपूर्वक काम गर्नुपर्दछ। काममा लापरवाहीका कारण केही सजाय हुनसक्छ । यो समयमा कसैलाई ऋण नदिनुहोस्। साथै सेयर बजारमा लगानी नगर्नुहोस्। मानसिक शान्तिका लागि योग गर्नुहोस्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
सूर्य गोचरको असर तपाईको माताको स्वास्थ्यमा पर्न सक्छ। यस समयमा सावधानीपूर्वक पैसा खर्च गर्नुहोस्, अन्यथा भविष्यमा ऋण लिने अवस्था आउन सक्छ। सहकर्मीले सहयोग नगर्ने हुनाले रोजगारीमा रहेका व्यक्तिहरु कार्यस्थलमा निराश हुन सक्छन् । पैसाको संकटले तपाईलाई निराश बनाउन सक्छ।