गुरु अस्ताउँदा बैशाख १८ गतेसम्म रहनेछ गुरूको बाल्य दोष, यस अवधिमा गर्नुहुन्न पूजापाठ तथा धार्मिक कार्य

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख १८ सम्म कुनै पनि शुभ तथा माङ्गलिक कार्यहरु नगर्न अनुरोध गरेको छ। समितिले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख १८ सम्म गुरु अस्त अवस्थामा रहने हुँदा गृहप्रवेश, विवाह, मन्दिर, व्रतबन्ध, विशिष्ठ पूजा, पाठ यज्ञयागादि नगर्न अनुरोध गरेको हो।

पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र अनुसार अस्त समयमा गुरू शुक्र सूर्यको समीपमा रहने भएकाले यज्ञका फलदाता देवगुरूको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन। शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन ।

वि.सं.२०७९ साल चैत्र १७ गते शुक्रवारबाट गुरू अस्त भै आगामी २०८० साल बैशाख १५ गते शुक्रवार गुरूको उदय हुन्छ । उक्त दिनहरूमा गुरूको अस्त दोष र बैशाख १६ गतेदेखि बैशाख १८ गतेसम्म गुरूको बाल्य दोष रहन्छ । उक्त अवधिमा इनार, बगैचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन, वधूप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्टका श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ठ पूजा, पाठ यज्ञयागादि कहिल्यै नगरिएको देव दर्शन तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यासग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेक आदि अन्यगतिक काम्य कर्महरू उक्त अस्तकालमा गर्नुहुदैन भन्ने कुरा श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र, आदि सबै शास्त्रले बताएका छन् ।

अस्त समयमा गुरू शुक्र सूर्यको समीपमा रहने भएकाले यज्ञका फलदाता देवगुरूको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन भन्ने नै शास्त्रको मनसाय हो । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन ।

हाल देशमा यस्तो वर्जित समयमा सप्ताह, नवाह र ठूला ठूला यज्ञहरू भै रहेका छन् र हुन लागेका छन् भन्ने सुन्नमा आएका छन् । यस्ता क्रियाकलाप बन्द गरिनुपर्छ भनी देशमा चारैतिरबाट जन गुनासाहरूसमेत यस समितिमा आएकाले यसमा समितिको ध्यानाकर्षण भएको छ ।

सूक्ष्मरूपमा भए पनि आरम्भ पछि यसको दोष लाग्दैन पनि कोही कोही भन्दछन् तर सूक्ष्मआरम्भ पछि गुरूशुक्रास्तमा फेरि वृद्धिक्रमले पाठ, जप होमादि गर्न हुन्न भन्ने विषय शास्त्रमा प्रष्टरूपमा लेखिएको छ । जस्तैः
आरम्भदिनमारभ्य समाप्तिदिवसावधि ।
न न्यूनं चातिरिक्तं च जपं कुर्याद् दिने दिने ।।

श्रीमद् देवीभागवत महापुराण ११।२१।३३-३४

अतः सूक्ष्मरूपमा प्रारम्भ भएको कर्मलाई वृद्धि क्रमले गुरूशुक्रास्तमा यज्ञादि गर्न निषिद्ध भएको शास्त्रहरूको निष्कर्ष छ । यस शास्त्रवचनको आधारमा पूजापाठादिलाई विचमा बढाएर बृद्धि क्रमले अगाडि बढाउन मिल्दैन भन्ने शास्त्रको मर्म रहेकोले यस्ता धार्मिक कार्यहरू नगर्न नगराउन सम्बद्ध सबै सनातन प्रेमी महानुभावहरूमा यो समिति हार्दिक अनुरोध गर्दछ ।

प्रकाशित : शुक्रबार, बैशाख ०१, २०८०१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ८ गते बुध वक्री हुँदै, यी राशिका जीवनमा के-कस्ता प्रभाव पर्ला ?