भारुको विनिमय दरमा विचलन, निरन्तर घट्न थाल्यो !

नेपालगञ्ज, विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ ।

सीमा क्षेत्रका नेपाली बजारमा भारु बढी भित्रिएपछि अभाव समाप्त हुनुका साथै भारतीय नोटको माग पनि घटेकाले कम मूल्यमै भारुको लेनदेन हुन थालेको स्थानीय व्यवसायी सीताराम गुप्ताले बताउनुभयो ।

उहाँले विगतमा स्थानीयले १६३ देखि १६८ रुपियाँसम्म तिरेर सय रुपियाँ लिने गरेकोमा हाल १५५ रुपियाँमै सय रुपियाँ भारु पाउन थालेको बताउनुभयो ।

तस्करी र हुन्डीबाट मागभन्दा बढी भारु नेपाल भित्रिँदा केही महिनायता सीमावर्ती बजारमा भारु कमजोर भएको स्थानीय व्यवसायीको आकलन छ ।

सुन तस्करी र नेपालगञ्जका क्यासिनोका कारण पनि बजारमा भारु नोट आपूर्ति बढेको हुन सक्ने अर्का व्यवसायी जावेद राईले बताउनुभयो । “अहिले नेपाली रुपियाँ बलियो हुनुमा बजारको मागभन्दा बढी अवैध रूपमा भारु भित्रिनु मुख्य कारण हो,” राईले भन्नुभयो ।

केही महिनाअघिसम्म नेपाल राष्ट्र बैङ्कको नेपालगञ्जस्थित शाखा कार्यालय र त्यहाँका मुद्रा सटही काउन्टरमा भारतीय मुद्रा किन्नेको भीड लाग्थ्यो । माग धेरै हुँदा त्यति बेला भारतीय मुद्राको अभाव हुन्थ्यो र बढी कमिसन दिएर मात्र बजारमा सटही गर्न पाइन्थ्यो ।

तर अहिले अवस्था फेरिएको छ । अहिले भारु बजारमा धेरै भित्रिएपछि भारु लिनेहरू नभेटिँदा बिक्री भाउ घटेको छ ।

प्रकाशित : बुधबार, चैत ०८, २०७९०७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भागबण्डा पुर्याउन प्रचण्डलाई सकस, २२ मन्त्रालयलाई फुटाएर २५ पुर्याउने प्लान !