प्रचण्डलाई भागबण्डा मिलाउनै कठिन !

काठमाडौं । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । यसका लागि गठबन्धनको तर्फबाट जनता समाजवादीका नेता रामसहाय यादव र एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच प्रतिस्पर्धा हुँदै छ । दलगत हिसाबका मत कतै क्रस भएन भने यादवको जीत सहज देखिएको छ । यो सहमतिमा गठबन्धनका केही दलले असन्तुष्टिसमेत जनाएका छन् । यद्यपि गठबन्धनदलहरू सबैलाई मनाउने प्रयासमा लागेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यसअघि राष्ट्रपतिको निर्वाचनमा तटस्थ बसेको राप्रपाले शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनका तर्फबाट रामसहायप्रसाद यादव र एमालेका अष्टलक्ष्मी शाक्यबीच प्रतिस्पर्धा हुने भएको छ । अन्तिममा आएर गठबन्धनका उम्मेद्वारलाई राष्ट्रपतिको चुनावमा मत हाल्ने निर्णय गरेको रास्वपाले पनि यस विषयमा शुक्रबार बिहान निर्णय लिने बताइएको छ ।

उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार नयाँ बानेश्वरको संसद् भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारीलगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

मतदानका लागि संसद् भवनको ल्होत्से हलमा दुई वटा मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने र ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने उनको भनाइ छ । निर्वाचनमा चार जना उम्मेद्वार प्रतिष्पर्धामा रहेका छन् । सत्ता गठबन्धन दलबाट तीन जनाको उम्मेद्वारी परेको छ भने प्रतिपक्षी दलबाट एक जनाको उम्मेद्वारी परेको छ ।

सत्ता गठबन्धनमा सहभागीसमेत रहेका जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी दल बाहेकको समर्थनमा रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादवको उम्मेद्वारी दर्ता छ । यद्यपि प्रमिलाकुमारीले विज्ञप्तिमार्फत आफूले उम्मेद्वारी फिर्ता लिएको बताउँदै रामसहायलाई भोट मागेकी छिन् ।यस्तै सत्ता गठबन्धनमा रहेको जनमत पार्टीबाट ममता झा उम्मेद्वार रहेकी छन् । उपराष्ट्रपति निर्वाचनमा झाको पक्षमा नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत सहकार्य गर्ने जनाएका छन् ।

यस्तै नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा रहेकी छन् । निर्वाचनमा एउटा मतदान केन्द्रमा सात जनासम्म कर्मचारी खटिनेछन् । सो निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा तर्फका ५ सय ५० सांसद मतदाताका रूपमा रहेका छन् ।अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाले बिहीबारै सरकारी निवास छोडिसकेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनी बिहीबार अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति बिहीबारै निजी निवासमा सरेको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा जानेछन् ।उपराष्ट्रपतिको निर्वाचन भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने भएका छन् । त्यसका लागि आउने सोमबारका लागि तयारी गरेका छन् ।

सरकारले विश्वासको मत लिए लगतै प्रधानमन्त्री प्रचण्डले सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य गरेका छन् । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेतासँग परामर्श गरिसकेका छन् । उपराष्ट्रपतिको चुनाव लगत्तै विश्वासको मत लिने र सरकार बिस्तार तयारी भएको स्रोतले जनाएको छ ।

यसअघि सत्ताघटक दल एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिए लगत्तै सरकार विस्तार हुने भएको छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँगको नयाँ राजनीतिक समीकरण बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । गत फागनु १३ गते राप्रपाले सरकार छाडेको थियो भने फागुन १५ गते एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका थिए । फागुन १३ देखि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालले ६ चैतमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले ६ गते विश्वासको मत लिने तय भएको र विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको बताइएको छ ।यसअघि गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए । तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएपछि उनले असाधारण बहुमत पाएका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिए लगतै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टाउकोमा अहिले १६ मन्त्रालयको भार परेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेपछि प्रचण्डको टाउकोमा १६ मन्त्रालयको भार थपिएको हो । जनता समाजवादी पार्टीलाई दिन भन्दै केही मन्त्रालय खाली राखिए पनि जसपा सरकारमा सहभागी नै भएको थिएन । उसले भागबण्डामा असहमति जनाउँदै सरकारमा सहभागी जनाएको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिनेगरी गृहकार्य समेत थालेका छन् । चैत ६ गते विश्वासको मत लिएलगत्तै प्रचण्डले सरकारलाई पूर्णता दिनेगरी आन्तरिक रूपमा शीर्ष तहमा छलफल गरिरहेका छन् । अहिले सत्ता गठबन्धनमा १० दल छन् । गठबन्धनमा सामेल भएका कति मन्त्रालय लिएर कुन दल सरकारमा जान्छन् भन्ने कुरा अहिल्यै टुंगिएको छैन । तर, सरकारमा सहभागी हुँदा माधव नेपाल नेतृत्वको नेकपा एसले चार मन्त्रालयको दाबी गर्ने भएको छ । यस्तै दाबी अन्यदलहरूले पनि गर्दै आएका छन् ।

प्रकाशित : शुक्रबार, चैत ०३, २०७९०८:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाललाई विश्वकप छनोटमा पुगेपछि कप्तान भन्छन् – ‘हामी अलिकति पनि आत्तिएनौं’