नेपाललाई विश्वकप छनोटमा पुगेपछि कप्तान भन्छन् – ‘हामी अलिकति पनि आत्तिएनौं’

काठमाडौं – नेपाली क्रिकेट टोलीका युवा कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला १२ मध्य ११ खेलमा सानदार जित दिलाएपछि सबैको विश्वास हुँदा सफलता हात पारेको बताएका छन् । नेपाललाई अविश्वसनीय रुपमा शीर्ष तीनमा रहँदै सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुर्याएपछि रोहितले सपना पूरा भएको बताएका छन् ।

‘आज (बिहीबार) को खेल ठ्याक्कै फाइनल जस्तै भयो । एकदमै कडा खेल थियो । युएई राम्रो विपक्षी टोली हो र उनीहरुले राम्रो क्रिकेट पनि खेले । दोस्रो इनिङमा हाम्रो ब्याटरले पनि राम्रो प्रदर्शन गरे । आरिफ र गुलशनले अन्तिममा जुन साझेदारी गरे त्यो हाम्रो लागि एकदमै महत्वपूर्ण थियो । सुरुमा विकेट गएपनि डग आउटमा लक्ष्य पूरा गर्ने विश्वास थियो । किनभने हामीले यसअघि पनि पूरा गरेका थियौं भन्ने विश्वास थियो । त्यहिँ विश्वासले हामी अघि बढेका थियौं’, जितपछि कप्तान रोहित पौडेलले भने ।

जितको लागि ३ सय ११ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ४४ ओभरमा ६ विकेट गुमाउँदै नेपालले २ सय ६९ रन बनाउँदा खेल ब्याड लाइट र कट अफ टाइमको कारण सकिएको थियो । नेपालले पहिलो पटक ३ सय ११ रनको लक्ष्य पछ्याएको थियो । रोहितले विकेट राम्रो हुँदा लक्ष्य पूरा गर्नेमा विश्वास रहेको बताए ।

‘डेथ ओभरमा हामीले बलिङ गर्दा मैले सबैलाई भनेको थिए । ग्राउन्ड पनि सानोछ । विकेट एकदमै राम्रो छ । दोस्रो इनिङमा झनै राम्रो हुन्छ । लक्ष्य पूरा गर्नेमा हाम्रो विश्वास थियो’, उनले भने ।

‘यो जित एकदमै महत्वपूर्ण छ । हामीले १२ खेल अघि नै पहिला ओडिआई र त्यसपछि सोझै छनोटको सपना राखेका थियौं । हाम्रो लागि सबै कुरा राम्रो भएको छ । सरले सुरुमा आएदेखि जुन विश्वास राख्नु भएको थियो । हामीले गर्न सक्छौं भनेर । आज त्यो सपना पूरा भयो’, रोहितले भने ।

रोहित यसको मुख्य श्रेय खेलाडीलाई जाने बताउँछन् । ‘यसको मुख्य श्रेय खेलाडीहरुलाई जान्छ । सर आएदेखिनै मोमेन्टम हाम्रो पक्षमा आयो । धेरै श्रेय मोन्टी सरलाई जान्छ’, उनले भने । अव नेपालले जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट आगमी जुन जुलाईमा खेल्नेछ । १० टोली सहभागी प्रतियोगितामा नेपालले शीर्ष दुईमा स्थान बनाउन सके आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछ । रोहित त्यस्तो खासै फरक केहि नहुने बताउँछन् ।

‘अव हाम्रो राम्रो टोलीसँग खेल हुन्छ । मलाई त्यस्तो फरक केहि लाग्दैन । एक बल ब्याटल हो । जो बलरले फ्याँलेपनि एक बल नै खेल्ने हो । हामी त्यहिँ हिसाबले जान्छौं’, उनले भने ।

रोहितले २० वर्षकै उमेरमा यस सफलता हात पारेका छन् । उनको कप्तानी र प्रदर्शन दुवै महत्वपूर्ण छ । रोहित आफ्नो उपलब्धी नभएको बताउँछन् । ‘मलाई लाग्छ यो मेरो उपलब्धी होईन । पुरै टोली, खेलाडी, सरको सबैको सफलता हो । म एकदमै खुसी छु’, उनले भने ।

रोहितले समर्थकलाई विशेष धन्यावाद दिए । ‘म विहान वार्मअप गर्दा देखिनै पुरै दर्शक आएका थिए । सबैको लागि एकदमै धन्यावाद छु । वहाँहरुले आएर हामीलाई साथ र हौसला पनि प्रदान गर्नु भएको थियो । मैदानमा जुन हिसाबले आज इनर्जी थियो । त्यो एकदमै आभारी र धन्यावाद भन्छु’, रोहितले भने ।

प्रकाशित : शुक्रबार, चैत ०३, २०७९१०:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मौसममा उथलपुथल, अब निरन्तर वर्षा ! कहिले सम्म ?