नेपाल विश्वकप छनौटको मुखमा पुगेपछि गिरीको रोचक बधाई ! के भने ?

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएईलाई नौ रनले हराउँदै आगमी जुन–जुलाइमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको हो । यो जितसँगै नेपाल ४० अङ्कका साथ लिग–२ को तेस्रो स्थानमा उक्लियो र जिम्बावेको यात्रा तय गर्न सफल भयो ।

युएईले दिएको तीन सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले खराब प्रकाशको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिका आधारमा जित हासिल गरेको हो ।

खेल रोकिनुअघि नेपालले ४४ ओभरमा छ विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन तथा भीमले ६७ रनको योगदान दिए । गुलशन ५० रनमा अविजित रहे ।

त्यसैगरी कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्लले पाँच रन जोडे । दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले तीन विकेट लिए । त्यस्तै आयान अफजल खानले दुई तथा जाहोर खानले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर तीन सय १० रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र चार चौकासहित अविजित एक सय एक रन बनाए ।

यस्तै वृत्य अरविन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रन बनाए । त्यसैगरी रोहन मुस्तफा २०, सिपी रिजवान सात, आर्यन लाक्रा छ र आयन अफजल खान तीन रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक लिए ।

जित निकाल्दै नेपाल विश्वकप छनौटमा प्रवेश गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाईको ओइरो नै लागेको छ। नेपाली सर्वसाधारण, कलाकार, राजनीतिक दलका नेता, खेलाडी सँग-सँगै प्रधानमन्त्री र राष्ट्रपति सम्मले उच्च प्रदर्शन गर्दै नेपाललाई विश्वकपको मुखमा पुर्याउने खेलाडी र प्रशिक्षकलाई बधाई सँग-सँगै धन्यवाद दिरहेका छन्।

नेपाल विश्वकप छनौटमा पुगेपछि नेपाली हाँस्य कलाकार दीपक राजा गिरीले रोचक बधाई दिएका छन्। सामाजिक संजाल मार्फत गिरीले गज्जबको बधाई दिएका हुन्।

“कहिले बलिङ चल्छ, कहिले ब्याटिङ चल्छ। टिमवर्क राम्रो भएपछि विपक्षी ढल्छ। बधैई सबैलाइ! जय नेपाल !!”,गिरीले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : बिहिबार, चैत ०२, २०७९१९:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

युएई विरुद्ध नेपाली ब्याट्सम्यानको चमत्कार, पहिलो पटक जुर्यो दुर्लभ संयोग !