युएई विरुद्ध नेपाली ब्याट्सम्यानको चमत्कार, पहिलो पटक जुर्यो दुर्लभ संयोग !

काठमाडौं – नेपाली ब्याटरले पहिलो पटक एकै खेलमा चार अर्धशतकको कीर्तिमान बनाएका छन् । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले हराउन नेपाली चार ब्याटरले अर्धशतक प्रहार गरे ।

जितको लागि ३ सय ११ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ४४ ओभरमा ६ विकेट गुमाउँदै नेपालले २ सय ६९ रन बनाउँदा खेल ब्याड लाइट र कट अफ टाइमको कारण सकिएको थियो । नेपालका ओपनर कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुलशन झाले अर्धशतक प्रहार गरेका थिए । नेपाली क्रिकेटमा पहिलो पटक एकै खेलमा चार ब्याटरले अर्धशतक प्रहार गरेका हुन् ।

गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा अविजित रहे । आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा आउट भए । भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए ।

यसअघि नेपालबाट एकै खेलमा तीन ब्याटरले अर्धशतक प्रहार गर्दै आएका थिए । अघिल्लो महिना आइसिसी विश्वकप लिग–२ मा नामिबियाले प्रस्तुत गरेको २ सय ७५ रनको विजयी लक्ष्य पूरा गर्नेक्रममा नेपालका तीन ब्याटर आसिफ शेख ८१, ज्ञानेन्द्र मल्ल ६५ र कुशल मल्लले ६२ रन बनाएका थिए ।

गतवर्ष अमेरिकाविरुद्ध २ सय ७४ रन बनाउनेक्रममा नेपालका देव खनालले ५४, आसिफ शेख ६१ र रोहित कुमार पौडेलले ६२ रन जोडेका थिए । चार ब्याटरको अर्धशतकको सहयोगमा नेपालले आगमी जुन जुलाईमा सोझै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ ।

नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । नामिबिया ३६ खेलमा १९ जित र १६ मा हारसहित ३९ अंकका साथ चौथो स्थानमा रह्यो । आइसिसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

प्रकाशित : बिहिबार, चैत ०२, २०७९२१:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

त्यो एक ओभरमा अभाएको चमत्कार, जसले नेपाललाई विश्वकप छनौटमा पुर्यायो !