केही समय देखि नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्धको बारेमा सामाजिक सञ्जालमा चर्चा हुँदै आए पनि अभिनेत्रीले यस विषयमा केही बोलेकी थिइनन्। गत वैशाख ९ गते अभिनेत्री आफ्नो धार्मिक मान्यता अनुसार आशिष गेललसँग विवाह गरेकी थिइन्। अहिले उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका खबर सार्वजनिक भएको छ।
विवाहपछि अभिनेत्री श्रीमानसँग अमेरिका बस्दै आएकी थिइन्। तर विवाह भएको छोटो समयमा नै उनीहरू अलग भएका थिए। साथै सामाजिक सञ्जालबाट अभिनेत्रीले श्रीमानको तस्बिर समेत हटाएकी थिइन्।
जहिलेबाट अभिनेत्रीले सामाजिक सञ्जालबाट श्रीमानको तस्बिर हटाइन त्यस समय देखि नै उनीहरुको सम्बन्धमा फाटो आएको अनुमान गरिएको थियो। तर यस विषयमा अभिनेत्रीलाई प्रश्न गर्दा अभिनेत्रीले यस विषयमा खुलेर जवाफ दिएकी थिइनन्।
अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे खुलेर नबोलेकी अभिनेत्री वर्षको सम्बन्ध अन्त्य भएको निश्चित भएको छ, किनकि अभिनेत्री वर्षको श्रीमान आशिषले झापाकी युवती समीक्षा विमलीसँग सोमबार विवाह गरेका छन्।