उपराष्ट्रपति पदलाई लिएर गठबन्धनमा लफडा, तीन जनाले दिए उम्मेदवारी !

काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार शनिबार बिहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरिएकोमा चार जनाको उम्मेदवारी दर्ता भएको हो ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ ।

यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए । आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

सत्तारुढ १० दलीय गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेपछि अन्योल उतपन्न भएको छ । जनता समाजवादी पार्टीबाटै दुई जनाको उम्मेदवारी परेको छ । दुवै उम्मेदवारलाई गठबन्धनमा रहेका ठूला तीन दलको समर्थन छ ।

रामसहाय यादवको उम्मेदवारीमा उजुरी परेपछि जसपाले अर्की नेतृ प्रमिला यादवलाई पनि उम्मेदवारी दर्ता गर्न लगाएको हो । रामसहाय र प्रमिला दुवैको उम्मेदवारीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन् । जनमत पार्टीकी नेतृ ममता झालाई भने नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको बताइएको छ ।

आइतबार सत्तारुढ १० दलको बैठक बसेर तीन मध्ये कुनै एकलाई उम्मेदवार बनाउने सम्भावनासमेत रहेको छ । सकेसम्म मिलाउने मिल्न नसके मित्रवत प्रतिस्पर्धा गर्ने जनमत पार्टीमा अध्यक्ष सिके राउतले बताएका छन् ।

ममतामाथि अख्तिायारको मुद्दा

जनमत पार्टीको प्रस्तावमा उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झालाई अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले ८ वर्षअघि भ्रष्ट्रचार अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

उनी साझा प्रकाशनकी अध्यक्ष हुँदा योग्यतानै नपुगेका व्यक्तिलाई अस्थायी नियुक्ति दिएर भ्रष्ट्राचार गरेको अभियोग लगाउँदै अख्तियारले २०७१ जेठ ४ मा विशेष अदालतमा मुद्दा दर्ता गएको हो । उनलाई ३ लाख ६६ हजार जरिवाना र सजायको माग गरिएको थियो ।

न्यूनतम शैक्षिक योग्यता बिना नै माधवप्रसाद थपलियालाई नियुक्त गरेर साझा तलब भत्ता लिनेदिने कार्य गरेकोमा अख्तियारले दुवैलाई कसुरदार ठहराएको थियो । यो मुद्दामा उनले सफाई पाएको नपाएको यकिन नभएको बताइन्छ ।साझा श्रोतले भने उनले सफाई पाएको कुनै जानकारी साझामा प्राप्त नभएको बताएको छ । तर कतिपय भने उनले सो मुद्दामा सफाई पाइसकेको बताउँछन् ।

अख्तियारमा लोकमान सिंह कार्की हुन्जेल ममताले साझामा जति नै अनियमितता गरे पनि छुपेको थियो । उनले कार्कीलाई ‘बा’ भन्ने गरेको साझाका पुराना कर्मचारी बताउँछन् । उनका पिता र कार्की एकै पटक अञ्चलाधीश भएकाले र उनीहरूबीचमा राम्रो दोस्ती रहेको बताइन्छ । उनी पञ्चायतकालिन अञ्चलाधीश जगदीश झाकी छोरी हुन् ।

जसपा बाटै दुई उम्मेदवार

जनता समाजवादी पार्टी (जसपा)बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव र प्रमिला यादवले उपराष्यट्रपतिका लागि उम्मेदवारी दिएका हुन् ।

नेता रामसहायको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी तथा समर्थकमा रेखा यादव,अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी रहेका छन् ।

त्यसैगरि, जसपाकै प्रमिला यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन् ।

आयोगको कार्यतालिका अनुसार आज नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २८ गते नै उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ । -सौर्य दैनिकबाट

प्रकाशित : आइतबार, फागुन २८, २०७९०८:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१०९ वर्षीय ओमलालले पाउने भए राष्ट्रिय परिचयपत्र !